
जितसँगै शीर्ष स्थानमा रहेको एपिएफले आठ खेलमा २२ अंक पुर्याएको छ। समान खेल खेलेको सुदूरपश्चिम अंकविहीन छ। एपिएफको जितमा रश्मिकुमारी घिसिङ र अनिता केसीले समान चार गोल गरिन्। प्रिति राईले तीन गोल गर्दा कुसुम खतिवडा र सविता रानामगरको नाममा समान दुई गोल रह्यो। सरु लिम्बु, अनिता बस्नेत र रेनुका हमालले समान एक गोल आफ्नो नाममा टिपाइन्। एक गोल भने आत्मघाती रह्यो।

आठ मिनेटमै एपिएफले अग्रता लिएको थियो। पहिलो हाफमै उसले ११ गोल वर्षायो। यसमा कप्तान अनिता केसीले ह्याट्रिक पूरा गरिन् भने रश्मि र सविताले समान दुई गोल गर्न भ्याइन्। अनिता बस्नेत, सरु र प्रतीले पनि पहिलो हाफमै गोल गरिन्। सुमिहाङ्मा राईले ३९औं मिनेटमा आत्मघाती गोल गरिन्।

दोस्रो हाफमा भने एपिएफले ९ गोल मात्रै गर्न सक्यो। रश्मिले ४७औं मिनेटमा ह्याट्रिक पूरा गरिन्। अनिता केसीले ६२औं मिनेटमा चौथो गोल गर्दा प्रतीले पनि ६४ र ७६औं मिनेटमा गोल गर्दै ह्याट्रिक पूरा गरिन्। रश्मिले ७६औं मिनेटमा व्यक्तिगत चौथो गोल गर्दा ८२ र ८६औं मिनेटमा कुशुमले दुई गोल थप्न भ्याइन्। यस्तै, ९०औं मिनेटमा रेनुका हमालले पनि एक गोल थपिन्।
के हो विवाद ?
महिला लिगका लागि २६ खेलाडीलाई धनगढीको अल स्टार फुटबल एकेडेमीमा ९ साउनदेखि सुरज तामाङले प्रशिक्षण दिइरहेका थिए ।
आयोजक अखिल नेपाल फुटबल संघ (एन्फा) ले प्रशिक्षकसँग बी लाइसेन्स हुनुपर्ने नियम बनाएपछि सुदूरपश्चिम फुटबल संघले सुरज तामाङलाई हटाएर ९ भदौमा दिनेश लामा योञ्जनलाई प्रशिक्षक बनायो । नयाँ प्रशिक्षक ल्याएसँगै सुदूरपश्चिम प्रदेश फुटबल संघले पहिलो चरणमा १८ खेलाडीलाई मात्र काठमाडौं लगिने जानकारी गरायो ।

जबकी एउटा टिममा ३० जना खेलाडी राख्न पाउने प्रावधान छ । तर नयाँ प्रशिक्षक ल्याएको संघले पुनः खेलाडी छनोट गर्न खोजेको बुझेपछि खेलाडीहरुले विरोध गरे । उनीहरुले एक महिनादेखि प्रशिक्षण गराइरहेका सुरज तामाङलाई निरन्तरता दिनुपर्ने, बन्द प्रशिक्षणमा रहेका सबै २६ जनालाई नै काठमाडौं लैजानुपर्ने, खेल सामग्री उपलब्ध गराउनुपर्ने माग संघमा राखे । माग पूरा नभए सबैले नखेल्ने बताए । अध्यक्ष दिनेश श्रेष्ठ भने खेलाडीहरुलाई सुन्न तयार भएनन्, बरु नयाँ प्रशिक्षक दिनेश लामा योञ्जनले १४ भदौमा सेलेक्सन राखे र नयाँ टिम बनाए ।

एक महिना प्रशिक्षण गरेका खेलाडीहरुले पत्रकार सम्मेलन गरेर नयाँ टोली र आफूहरुबीच एउटा खेल खेलाउन र जसले जित्छ, उसैलाई काठमाडौं लैजान समेत आग्रह गरेका थिए । तर नयाँ टिम नै काठमाडौं आयो । सोमबार बाग्मतीविरुद्ध खेल्ने क्रममा २६ जनामा रहेकी गोलरक्षक टिकेश्वरी साउद मात्रै खेलिन् । बाँकी सबै नयाँ खेलाडी खेलाइएको थियो ।
टिममा भएका खेलाडीहरुको तालमेल पटक्कै मिलेको थिएन । डिफेन्स लाइन सबैभन्दा कमजोर देखिएको थियो । तर सुदूरपश्चिम प्रदेश संघका अध्यक्ष श्रेष्ठ भने कतिपय खेलाडीले पहिलो पटक खेलेकाले यो प्रदर्शन धेरै नै भएको बताउँछन् । उनका अनुसार अहिले पनि टोलीमा १२ जना खेलाडीको ठाउँ खाली छ । ‘हामी खेलाडीहरु खोजिरहेका छौं । बन्द प्रशिक्षणमा रहेका बैनीहरु आउँछन् भने टिममा राख्न तयार छौं’, श्रेष्ठले भने ।

स्रोतका अनुसार केही खेलाडी आउन पनि सक्छन् । तर धेरैले भने सुदूरपश्चिमको टिमबाट रिलिज (फुकुवा) मागेका छन् । त्यसो भएमा अरु प्रदेशको टिमबाट खेल्न सकिने उनीहरुको बुझाइ छ । अध्यक्ष श्रेष्ठ भने व्यवस्थापकीय कारणले पनि अहिले बन्द प्रशिक्षणमा रहेका खेलाडीलाई रिलिज गर्न समय लाग्ने बताउँछन् । भन्छन्, ‘उनीहरुले भन्नेबित्तिकै त हुँदैन नि ?
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?