You are currently viewing कञ्चनपुरका दुई पालिकामा छाउगोठ भत्काउने कार्य तिब्र

कञ्चनपुरका दुई पालिकामा छाउगोठ भत्काउने कार्य तिब्र

३०श्रावण,२०८२ः कञ्चनपुरका दुई पालिकामा छाउगोठ भत्काउने कार्य अगाडि बढाइएको छ । असार २८ गते छाउगोठमा बसेका २८ वर्षीय कमला दमाईंको सर्पले डसेर ज्यान गएपछि सबै पालिकामा छाउगोठ भत्काउने अभियान सञ्चालन गर्न जिल्ला प्रशासन कार्यालयले आग्रह गरेको थियो । त्यसै अनुरूप हाल कृष्णपुर नगरपालिका र वेदकोट नगरपालिकाले छाउगोठ भत्काउन थालेका छन् । यी पालिकामा हालसम्म ५९ छाउगोठ भत्काइएका छन् । बुधबार वडा नम्बर १ हनुमानपुरमा रहेका २० छाउगोठ भत्काइएको कृष्णपुर नगरपालिकाले जनाएको छ । यसअघि कृष्णपुर नगरपालिकाले १६ छाउगोठ र वेदकोट नगरपालिकाले २३ छाउगोठ भत्काइएको थियो । पालिकाहरूले छाउगोठ भत्काउने अभियानलाई निरन्तरता दिइने जनाएका छन् ।
जिल्लाको दोधारा चाँदनी नगरपालिका, लालझाडी गाउँपालिका र भीमदत्त नगरपालिकाले भने पालिकाहरूमा छाउगोठ नभएको जानकारी गराएका छन् । भीमदत्त नगरपालिकाका प्रशासकीय अधिकृत एवं सूचना अधिकारी हरिसिंह धामीले भीमदत्तका १९ वटै वडामा छाउगोठ नभएको जानकारी आएको बताए । “छाउगोठ भत्काउन सबै वडालाई पत्र पठाइएको थियो,” उनले भने, “वडा कार्यालयहरूले छाउगोठ बनाएको नभेटिएको जानकारी पालिकालाई गराएका छन् ।” भीमदत्तमा छाउगोठ नबनाउन कार्यविधि नै निर्माण गरेर लागु गर्ने तयारी गरिएको सूचना अधिकारी धामीले बताए । दोधारा चाँदनी नगरपालिकाका १० वटै वडामा छाउगोठ बनाएको नभेटिएको सूचना अधिकारी सुरेशसिंह साउदले बताए । उनका अनुसार दोधारा चाँदनीमा महिलाले छुट्टै छाउगोठ नबनाएका तर घरमा अलग्गै बस्ने कोठा बनाएको भेटिएको छ ।

छ वटा वडा रहेका लालझाडी गाउँपालिकाका पाँच वडामा रानाथारूको बसोबास रहेको पालिकाले जनाएको छ । रानाथारू समुदायले महिनावारी नमान्ने र अन्य समुदायले पनि गाउँपालिकामा छाउगोठ बनाएको नभेटिएको सूचना अधिकारी नरेश चौधरीले बताए । पुनर्बास नगरपालिका, बेलौरी नगरपालिका, शुक्लाफाँटा नगरपालिका र बेलडाँडी गाउँपालिकाले छाउगोठको तथ्याङ्क सङ्कलन गर्न र भए भत्काउन वडा कार्यालयहरूलाई परिपत्र गरिएको जनाएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

Leave a Reply