जेठ १७,धनगढी : चैतन्य पाठशालाको आयोजनामा धनगढीमा सम्पन्न भएको तेस्रो चैतन्य प्रदेशस्तरीय तेक्वान्दो प्रतियोगिताको उपाधि कैलालीले जितेको छ । उसले ७ स्वर्ण र ५ काश्य गरी १२ पदक जित्दै प्रथम भएर नगद ५० हजार,ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ । प्रतियोगितामा सुदूरपश्चिम प्रदेशका नौवटै जिल्लाका एक–एक टिमसहित आयोजक समूहका दुई टिम गरी ११ टिमको सहभागिता रहेको थियो। कुल २४ जना निर्णायकहरूले निर्णायकको भूमिका निर्वाह गरेका थिए।

प्रतियोगितामा कञ्चनपुरले ६ स्वर्ण, ३ रजत र ४ काश्य गरी १३ पदकसहित द्वितीय हुँदै ३० हजार र आयोजक टिमले २ स्वर्ण, ७ रजत र २ काश्य गरी ११ पदकसहित तृतीय हुँदै २० हजार नगद पुरस्कार प्राप्त गर्यो।

प्रतियोगिताको उत्कृष्ट पुरुष फाइटरमा टिम कैलालीका डिल्लीराज जोशी र महिला फाइटरमा आयोजक टिमकी रोशनी बडाल चयन भए। उनीहरूले जनही ५ हजार, ट्रफी र मेडल प्राप्त गरे ।

राष्ट्रिय टिम तयारी निर्देशक दीपक विष्टले यो प्रतियोगिता सुदूरपश्चिममै पहिलोपटक सेन्सर सिस्टम प्रयोग गरेर आयोजना गरिएको ऐतिहासिक कदम भएको उल्लेख गर्दै यसले खेलाडी र निर्णायकलाई नयाँ अनुभव प्रदान गरेको बताए। उनले विद्यालय स्तरमै यस्ता कार्यक्रमले भविष्यका खेलाडी उत्पादनमा टेवा पुग्ने विश्वास व्यक्त गरे।

कार्यक्रमका सभापति गणेश प्रसाद जोशीले चैतन्य पाठशाला केवल किताबी ज्ञानमा सीमित नरही विद्यार्थीको समग्र विकासमा केन्द्रित रहेको र आर्थिक रूपमा कमजोर विद्यार्थीलाई प्राथमिकतामा राख्दै आएको बताए।

चैतन्य ग्रुप अफ कम्पनीका अध्यक्ष गणेश प्रसाद जोशीको सभापतित्वमा सम्पन्न कार्यक्रममा राष्ट्रिय खेलकुद परिषद् ( राखेप) का राष्ट्रिय टिम तयारी निर्देशक तथा ओलम्पियन दीपक विष्ट प्रमुख अतिथि तथा नेपाल राष्ट्रिय क्रिकेट टिमका पूर्व प्रमुख प्रशिक्षक जगत् टमटा विशिष्ट अतिथिका रूपमा उपस्थित थिए भने थुप्रै खेलप्रेमीहरुको उपस्थिति रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?