१ असोज,धनगढीः धनगढी उपमहानगरपालिकाले भदौ २३ र २४ गतेको आन्दोलनमा सहादत प्राप्त गरेका सहिदहरूको सम्झनामा एक महत्वपूर्ण सडक खण्डलाई ‘जेनजी मार्ग’ नामाकरण गर्ने भएको छ। उपमहानगरपालिका वडा नम्बर १ अन्तर्गत जोशी मेडिकल चोकदेखि पार्क मोड, कबर्ड हल हुँदै सहिद गेट–क्याम्पस रोड छुने सडक (महिला उद्यम बजार सञ्चालन भइरहेको क्षेत्र) लाई ‘जेनजी मार्ग’ नामाकरण गर्न कार्यपालिका बैठकमा प्रस्ताव लैजाने तयारी भएको छ।

उपमहानगर प्रमुख गोपाल हमालले जेनजी आन्दोलनमा बलिदान दिने सहिदहरूको सम्झना केवल इतिहासको पानामा मात्र सीमित नभई हरेक युवाको मुटुमा दीप बनेर जलिरहने बताए। “न्याय, अधिकार र परिवर्तनका लागि आफ्नो अमूल्य जीवन समर्पण गर्नेहरू सबैका लागि प्रेरणाको ज्योति बनेर सधैं चम्किरहने छन्,” मेयर हमालले भने।

उनले सहिदहरूको त्याग र योगदानलाई सम्मानस्वरूप उक्त सडकलाई ‘जेनजी मार्ग’ नामाकरण गर्न प्रस्ताव कार्यपालिका बैठकमा प्रस्तुत गरिने जानकारी दिए। साथै उनले सम्पूर्ण नगरवासीलाई सो सडकलाई ‘जेनजी मार्ग’ नामले नै प्रयोग गर्न अपील गरे।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?