वैशाख २ ,धनगढी : डडेल्धुराको परशुराम नगरपालिकाले कक्षा ११ को पढाई निशुल्क गर्ने भएको छ । नयाँवर्षको प्रारम्भको दिन वैशाख १ गते नगरप्रमुख भरत बडायक जोशीले एक भिडियो सन्देश जारी गर्दै नगरपालिका मातहतका सम्पूर्ण विद्यालयहरुमा कक्षा ११ को पढाई निशुल्क गर्ने जानकारी दिएका हुन ।

नगरप्रमुख जोशीले अब फीको जोहो कसरी गर्ने भनेर चिन्ता नमानेर मिहिनेत गरेर पढ्न र परशुरामको नाम उच्चो बनाउन विद्यार्थीहरुलाई आग्रह समेत गरेका छन । उनले अर्कोवर्षबाट कक्षा १२ को पढाई पनि निशुल्क गराइने समेत बताएका छन । स्नातक पढेका विद्यार्थीहरुको सर्टिफिकेट धितो राखेर नगद ५ लाख ऋण उपलब्ध गराउने देखि लिएर छोरी बुहारी छात्रवृत्ती कार्यक्रम पनि परशुराम नगरपालिकाले लागु गरेको छ ।

२०७९ सालको स्थानीय तहको निर्वाचनमा नेपाली काँग्रेसबाट नगरप्रमुखमा निर्वाचन जितेका जोशी सम्भवत देशकै कान्छा नगरप्रमुख हुन । उनले बेलाबेलामा विभिन्न सृजनात्मक कार्यक्रमहरु गर्दै परशुराम धाममा आन्तरिक तथा बाह्य पर्यटक भित्र्याउन अनेकन प्रयास गरिरहेका छन ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?