असोज २२,धनगढी: क्रिकेटर सन्दीप लामिछाने मुछिएको बलात्कारसम्बन्धी मुद्दा अन्ततः सधैँका लागि टुंगिएको छ । उच्च अदालतले गरेको फैसलाविरुद्ध अब सर्वोच्चमा पुनरावेदन हुने छैन । महान्यायधिवक्ता कार्यालयले फैसलाको पूर्णपाठमा चित्त बुझाएर पुनरावेदन नगर्ने निर्णय गरेसँगै यो मुद्दाको फाइल बन्द भएको हो । उच्च अदालतले सन्दीपलाई पूर्णरूपमा सफाइ दिएको थियो । उक्त फैसलाविरुद्ध सर्वोच्च जाने अन्तिम विकल्प सरकारसँग भए पनि त्यो आवश्यक नरहेको निष्कर्ष महान्यायाधिवक्ता कार्यालयले निकालेको छ ।

उच्च सरकारी वकिल कार्यालयले फैसलामाथि पुनरावेदन गर्न महान्यायाधिवक्ता कार्यालयलाई राय दिएको थियो । तर, महान्यायधिवक्ता कार्यालयले फैसलाको पूर्णपाठ पुनरावेदनमा जानु उपयुक्त ठानेन । सरकार वादी हुने कसुरमा मुद्दा चलाउने(नचलाउने र पुनरावेदन गर्ने(नगर्ने अन्तिम अधिकार महान्यायधिवक्ता कार्यालयलाई हुन्छ । महान्यायधिवक्ता कार्यालयका प्रवक्ता सूर्यराज दाहालले सन्दीपको मुद्दा अब समाप्त भएको बताए । उच्च अदालतको फैसला बुझेको बढीमा एक सय दिनभित्र पुनरावेदन गर्नुपर्ने हदम्याद हुन्छ । सन्दीपले पूर्णरूपमा सफाइ पाएकाले यो मुद्दामा उनी पुनरावेदनमा जानुपर्ने आवश्यकता थिएन । जाहेरीकर्ता गौशाला २६ स्वयम्ले पनि फैसलाको पूर्णपाठ आएपश्चात मुद्दालाई थप नलम्ब्याउने निर्णय लिएकी थिइन् । उनले सरकारी वकिल कार्यालयलाई फैसलामाथि पुनरावेदन नगर्न आग्रह गर्दै निवेदनसमेत दिएकी थिइन् । उनको निवेदनका कारण पनि कार्यालयलाई पुनरावेदनमा जान सहज थिएन । गौशाला २६ अहिले विदेश उडिसकेकी छन् ।
यसअघि जिल्ला अदालत काठमाडौंले जाहेरीकर्ता नाबालिग नरहेको ठहर्याए पनि सन्दीपले बलात्कार गरेको भन्दै ८ वर्षको कैद सजाय सुनाएको थियो । उक्त फैसलाविरुद्ध वादी र प्रतिवादी दुवैले उच्चमा पुनरावेदन गरेका थिए । उच्च अदालतमा सरकारी पक्ष बलात्कारको दावीमा समेत हार्यो ।२०७९ सालमा सन्दीपविरुद्ध बलात्कारको जाहेरी परेको थियो । त्यसको झन्डै एक महिनापछि उनलाई विदेशबाट फर्कनेक्रममा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट प्रहरीले पक्राउ गर्यो । सन्दीपलाई हत्कडी लगाएर लगिएको थियो ।
नेपालप्रेसबाट साभार
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?