आश्विन ४,धनगढी
डोटेली लोक संस्कृति क्षेत्रका जानकार वरिष्ठ डेउडिया दल बहादुर बोगटी विहिबार भौतिक रुपमा सदाका लागि यो संसारबाट बिदा भए । हँसिलो चेहारा,चट्ट मिलेको घोप्टेजुँगा ,कानमा एउटा चिटिक्क परेको झोला बोकेर साइकल डो¥याउँदै धनगढीका विभिन्न डेउडा खेलहरुमा देखिने बोगटीको मृत्य अकल्पनिय भयो ।

उनको शारिरिक तन्दुरुस्ती हेर्दा लाग्थ्यो अझ दुइ दशक उनी आनन्दमय जिवन बिताउन सक्छन तर हामीले सोचेको कहाँ हुँने रहेछ र । न अब बोगटी धनगढी बजारमा भेटिनेछन नत प्रत्यक्ष डेउडा खेलमा सवाल जवाफ नै फर्काउनेछन । २००८ सालमा डोटीको शिखर नगरपालिका २ घाँगडामा बुवा डम्मर सिंह बोगटी र आमा कलशी देवी बोगटीको कोखबाट जन्मिएका बोगटीले डेउडाबाटै पहिचान बनाएका थिए र डेउडा कार्यक्रमै सहभागी भएर फर्किदा जिवन गुम्यो ।

धनगढीको मटियारीस्थित केदारेश्वर धाममा कपल्लेकी जाँतमा डेउडिया भएर भदौ ३१ गते बेलुका डेउडा खेल्न गएका बोगटी साइकल चढेर राति घर फर्कने बेलामा हाइस गाडीले ठक्करदिंदा गम्भीर घाइते भएका थिए । उपचारका क्रममा उनको विहीबार दिउँसो १ बजे मृत्यु भयो । शुक्रबार बिहान ८ बजे सुदूरपश्मिाञ्चल साहित्य समाजको प्राङ्गणमा उनलाई बिदाइ गर्न राखिएको श्रदाञ्जली सभामा जम्मा भएकाहरु भक्कानीरहेका थिए । कोहि डाको छोडेर रोइरहेका थिए,आँखा कसैका ओभाना थिएनन ।

उनलाई सुदूरपश्चिम प्रदेश सरकारका मुख्यमन्त्री कमल बहादुर शाहले नेपालको राष्ट्रिय झण्डा र डेउडा प्रतिष्ठानको झण्डा ओडाएर श्रदाञ्जली दिएका थिए । महेन्द्रनगरका डेउडीया लक्ष्मण अधिकारी,धनगढीकी धन्सरा साउँद,धनेश्वरी रेग्मी,दिल बहादुर धामी,भक्तराज जोशी,प्रेम विवस चन्द लगायतले केहि शव्द प्रत्यक्ष गाएर श्रदाञ्जली दिदा साहित्य समाजको प्राङ्गण शोकमग्न थियो ।

अनौपचारिक रुपमै भएपनि करिबन छ दशक डेउडा गीत संगीतमा बिताएका बोगटीको योगदान भाषा,कला र संस्कृतिका लागि अतुलनीय छ । उनले डोटेली भाषाको पहिलो चलचित्र गौरी, धन्यमाया जाल, नेपाली भाषी दुर्गा मल्ल, नशा एक लत र कोपिला सिरियल तथा दर्जनौं डेउडा गीतमा अभिनय गरेका थिए । २०२५ सालमा नेपाल प्रहरीको जवान पदबाट सेवा सुरु गरेका बोगटी २०५७ सालमा अवकाश हुँदा प्रहरी नायब निरिक्षक सई थिए । उनी प्रहरी सेवामा हुँदा पनि तालिम केन्द्र लगायत कार्यालयमा साथीहरुलाई डेउडा खेल्न आग्रह गर्थे र रमाउँथे । पछिल्लो एक दशक उनी धनगढीमै सकृय थिए । डेउडा प्रतिष्ठान केन्द्रिय कार्यसमितिको अध्यक्ष भएर काम गरेका बोगटीकै नेतृव्तमा पछिल्लो समय धनगढीमा ठूलो धनराशीको प्रादेशिक खुल्ला डेउडा प्रतियोगीता हुँदै आएको थियो । जसमा सुदूरपश्चिम मात्र नभएर कर्णाली प्रदेशका डेउडियाको पनि सहभागिता रहने गरेको थियो । भाद्र महिनाभरी धनगढी उल्लासमय हुन्थो ।

बोगटीले सुदूरपश्चिम भरी अझ भन्ने हो भने धनगढीमा प्रत्यक्ष डेउडा खेल विस्तारमा ठूलो भुमिका खेलेका छन । डेउडा भनेपछि उनी भोक प्यास नभनी खेलिरहन्थे । जहाँ डेउडा खेल भैरहेको हुन्थ्यो त्यहाँ बोगटीको उपस्थिति रहन्थ्यो । पछिल्लो समयकी अत्यन्तै व्यस्त डेउडिया धन्सरा साउँदले दल बहादुर बोगटीकै कारण आपूm यो स्थानसम्म आउन सकेको र आफ्नो गुरु उहाँ नै भएको केहिदिन अघि हामीसँग गरिएको कुराकानीमा भनेकी थिइन ।

प्रत्यक्ष डेउडा खेल खेली काली कर्णाली क्षेत्रमा आफ्नो विशिष्ट पहिचान बनाएका बोगटीले गृह त्याग गर्दा सारा कलाकारजन,शुभचिन्तक घरपरिवार यतिबेला स्तब्ध छन ,उनी बस्दै आएको धनगढी शोकमग्न छन । कतिले उनीसँग बनाएका टिकटक भिडियो,फोटोहरु पोस्ट गर्दै दुख व्यक्त गरिरहेका छन भने धेरैजना चोक र गल्लीहरुमा उनले विगतका दिनमा सुदूरपश्चिमको भाषा,कला संस्कृतिको क्षेत्रमा पु¥याएको योगदानको स्मरण गरिरहेका छन । सानैमा बुवा गुमाएका स्वर्गीय बोगटीले बुवाको माया पाउन सकेनन,उनलाई बुवाको अनुहार समेत याद रहेनछ । अत्यन्तै दुख कष्ट झेलेर छोरा हुर्काएकी आमा कलशीदेवी अहिले १०४ वर्षकी भइन । बोगटी आफू जहाँगएपनि आमाको रेखदेख गरिरहने चिन्ता व्यक्त गरिरहन्थे । छोराको मृत्युको खबरले बज्यै बिक्षिप्त हुनुएको छ,बाजेले धेरै माया गर्नुहुन्थ्यो साँझ सकभर घर आउनुहुन्थ्यो अब बज्यैलाइ कसरी सम्हाल्ने होला दलबहादुरका नाती सम्भु बोगटीले मलिन मुन्द्रामा भने । हाल बोगटीकी १०४ वर्षिय आमा,श्रीमती र ५ छोराछोरी छन ।
आफ्नो जीवनको उर्जावान समय नेपाल प्रहरीमा रहेर राष्ट्रको सेवा गरेका बोगटीले संगठनभित्र पनि इमान्दार अनुशासित सिपाहीको छवी बनाएका थिए । डेउडा गाएरै उनले सुदूरपश्चिमाञ्चल साहित्य समाजबाट प्रतिभा पुरस्कार, नेपाल भाषा संस्कृति सम्बद्र्धन समाजबाट सम्मानित, जिजिकोट सलेना सेवा समाज डोटीद्वारा सम्मानित भएका थिए । अवकाशपूर्ण जिवनपछि उनले भुपू प्रहरी संगठन कैलालीको अध्यक्ष भएर पनि काम गरे ।
मिजाशिला स्वभावका बोगटी कसैसँग उचो बोलेको सुन्निन्थ्यो,चिनेको मान्छे भेट्ने बित्तिकै साइकल रोकेर कुराकानी गरिहाल्थे,कुराकानीमा गीत संगित,डेउडा खेलकै कुरा गर्थे समग्रमा बोगटी सबैका प्रीय थिए त्यहि भएर पनि उनी छिट्टै भगवानका प्रीय भए । भौतिक शरीर हामीमाझबाट छोडेर गएपनि उनले सुदूरपश्चिमको भाषा,कला र संस्कृतिको लागि दिनुभएको योगदान सधैभरी ताजा भएर आउनेछ र सबैले सम्झिरहनेछन । आफ्नो जिवननै लोकसंस्कृतिका लागि सुम्पेका स्वर्गीय बोगटीलाई प्रदेश सरकारले मरणोपरान्त विशेष सम्मान गरोस् हार्दिक श्रदाञ्जली ।
भिडियो हेर्न तलको LINK मा जानुहोला
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?