१९ भाद्र,धनगढीः नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले कर्मचारी वर्गको काँधमा सार्वजनिक सेवा प्रवाहलाई छिटोछरितो, चुस्त र प्रभावकारी बनाएर मुलुकमा सुशासन कायम गराउनुपर्ने गहन जिम्मेवारी रहेको बताएका छन ।
नेपाल निजामती कर्मचारी युनियनको ३५औँ स्थापना दिवसको अवसरमा आज आयोजित कार्यक्रममा सभापति देउवाले लोकतान्त्रिक परिवर्तनको भावना अनुरुप समय सापेक्ष रुपमा निजामती सेवा प्रवाहमा व्यापक सुधार हुन आवश्यक रहेको उल्लेख गरे ।
उनले भने, “सबल र सक्षम निजामती सेवा बनाउन ट्रेड युनियनहरूले महत्वपूर्ण भूमिका खेल्नुपर्ने आवश्यकता छ । विगतका कमी कमजोरीलाई सुधार गरेर सरकारले दिने हरेक सेवा चुस्त र दुरुस्त बनाउन तपाईहरु क्रियाशिल हुनु पर्छ ।”
सभापति देउवाले कर्मचारी युनियन सबै राष्ट्र सेवक कर्मचारीहरूको अभिभावक भएर नेतृत्वदायी भूमिकामा बस्नुपर्ने आवश्यकता रहेको उल्लेख गर्दै मुलुकको ठूलो लोकतान्त्रिक पार्टी कांग्रेसको शुभेच्छुक संस्था भएका कारण नेपाल निजामती कर्मचारी युनियनको नीति निर्माणमा महत्वपूर्ण भूमिका रहेको विश्वास व्यक्त गरे ।
शासकीय क्षमता अभिवृद्धि गर्न राज्यले बनाउने नीतिहरूमा छलफल एवम् बहस पैरवी गर्न पनि युनियनको रचनात्मक भूमिका आवश्यक पर्ने बताए । उनले हरेक निकायमा इमानदार र कत्र्यव्यनिष्ठ कर्मचारी भए मात्र सुशासनको प्रत्याभूति हुन सम्भव हुने धारणा राखे ।
स्थायी सरकार भनिने कर्मचारीतन्त्रमा हुने नियुक्तिमा पेसागत दक्षता भएका, इमानदार र सेवामैत्री कर्मचारीको छनोटमा वकालत गर्न युनियनको सार्थक उपस्थिति बलियो हुनुपर्ने सभापति देउवाको भनाइ थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?