२५ असार २०८२, बुधबार एजेन्सी – आइसिसी टि ट्वान्टी विश्व कपको युरोपियन छनोटमा इटलीले स्कटल्याण्डलाई पराजित गरेको छ ।नेदरल्याण्ड्समा जारी प्रतियोगितामा बुधवार इटलीले स्कटल्याण्डलाई १२ रनले हराएको छ। यो जितमा इटलीले पहिलो पटक विश्वकपमा स्थान बनाउने सम्भावना बलियो बनाएको छ ।

स्कटल्याण्डको विश्व कप छनोट सम्भावना कमजोर बनेको छ । १ सय ६८ रनको लक्ष्य पछ्याएको स्कटल्याण्डले २० ओभरमा ५ विकेट गुमाएर १ सय ५५ रन मात्र बनाउन सक्यो ।स्कटल्याण्डका ओपनर जर्ज मुन्सीले ६१ बलमा ७२ रनको अर्धशतकीय इनिङ खेले । कप्तान रिची बरिंग्टन ४६ रनमा अविजित रहे । इटलीका लागि ह्यारी मनिन्टीले ४ ओभरमा ३१ रन खर्चिएर ५ विकेट लिए ।

त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको इटलीले २० ओभरमा ६ विकेट गुमाएर १ सय ६७ रन बनाएको थियो ।इटलीका इमिलियो गेयले २१ बलमा ६ चौका र २ छक्काको सहयोगमा ५० रनको अर्धशतकीय इनिङ खेले ।

ग्रान्ट स्टेवार्थ ४४ रनमा अविजित रहे । ह्यारी मनिन्टी ३८ तथा जस्टिन मोस्का ११ रनमा आउट भए । तेस्रो खेलमा दोस्रो जित निकालेको इटली ५ अंकका साथ शीर्ष स्थानमा छ । स्कटल्याण्ड ३ खेलमा ३ अंकका साथ तेस्रो स्थानमा छ ।

युरोपियन छनोटमा ५ राष्ट्र सहभागी छन्। शीर्ष दुई टोली विश्व कपमा छनोट हुनेछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?