चैत्र २३,काठमाण्डौं: नेपाल क्रिकेट संघ (क्यान) ले यही अप्रिल ९ देखि १३ सम्म हङकङमा आयोजना हुने चार देशीय टी–२० अन्तर्राष्ट्रिय क्रिकेट प्रतियोगिताका लागि नेपाली राष्ट्रिय क्रिकेट टोलीको अन्तिम टोली सार्वजनिक गरेको छ।

क्यानले शनिवार फेसबुक पेज मार्फत रोहित पौडेलको कप्तानीमा १४ सदस्यीय अन्तिम टोली घोषणा गरेको हो । प्रतियोगितामा नेपालसहित आयोजक हङकङ, कुवेत र कतार सहभागी हुनेछन्। टोलीमा कप्तान रोहितसँगै दीपेन्द्र सिंह ऐरी, कुशल भुर्तेल, आसिफ सेख, सोमपाल कामी, ललित राजवंशी, कुशल मल्ल, करण के।सी, बसिर अहमद, साहब आलम, नन्दन यादव, रिजन ढकाल, गुलशन कुमार झा र लोकेश बम छन् ।

नन्दन पहिलोपटक राष्ट्रिय टोलीमा परेका हुन् भने बसिर र साहब दुवै सन् २०२२ पछि पहिलोपटक टी(२०आई टोलीमा फर्किएका हुन् । चार देशीय यो प्रतियोगिता नेपालका लागि आगामी टी–२० विश्वकपको तयारीको दृष्टिकोणले समेत महत्वपूर्ण मानिएको छ। नेपालका लागि नयाँ प्रशिक्षकमा स्टुअर्ट ल नियुक्त भइसके पनि यस शृंखलाका लागि भने पूर्वकप्तान ज्ञानेन्द्र मल्ल नेपालको प्रशिक्षक रहने क्यानले जनाएको छ ।

टोलीमा सन्दीप लामिछाने र अनिल शाह भने छैनन् । सन्दीप शल्यक्रियापछि रिकभर गरिरहेका छन् भने अनिल चोटका कारण टोली बाहिर छन् ।










यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?