You are currently viewing कैलालीमा ‘फिफा फुटबल फर स्कुलस’ कार्यक्रमको भव्य उद्घाटन

कैलालीमा ‘फिफा फुटबल फर स्कुलस’ कार्यक्रमको भव्य उद्घाटन

२३ भाद्र,२०८२ः अखिल नेपाल फुटबल सङ्घ (एन्फा) का अध्यक्ष तथा एशियाली फुटबल महासङ्घ (एएफसी) का कार्यकारिणी सदस्य पंकज विक्रम नेम्वाङ सुदूरपश्चिम प्रदेशको पहिलो औपचारिक भ्रमणमा रहेका छन्। दुई दिने भ्रमणको क्रममा उनले आज बिहान कैलालीको जुगेडा स्थित श्री मनकामना युवा क्लबको खेलमैदानमा ‘फिफा फुटबल फर स्कुलस’ कार्यक्रमको औपचारिक उद्घाटन गरेका छन्।


उद्घाटन समारोहमा नेम्वाङ सहितको टोलीलाई फुलमाला र दुबोको माला अर्पण गरी भव्य स्वागत गरिएको थियो। कार्यक्रममा बोल्दै अध्यक्ष नेम्वाङले विश्वका १३९ देशमा सञ्चालन भइरहेको यस कार्यक्रममार्फत ४ देखि १४ वर्षका बालबालिकालाई लक्षित गर्दै ७० करोड भन्दा बढी बालबालिकासम्म फुटबलमार्फत पहुँच पुगोस् भन्ने लक्ष्य लिएको जानकारी दिए। उनले नेपालमा पनि ७७ वटै जिल्लामा कार्यक्रम पु¥याउने एन्फाको योजना रहेको बताए।

 

नेम्वाङले कैलाली जिल्लामा नेपालकै बढी विद्यालय यस कार्यक्रममा समेटिनु खुसीको विषय भएको भन्दै सम्पूर्ण विद्यालयलाई बधाई ज्ञापन गरे। साथै, एन्फा केन्द्रीय समिति, प्रदेश समिति र जिल्ला फुटबल सङ्घबीच हातेमालो गर्दै यस कार्यक्रमलाई अझ प्रभावकारी बनाउन सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे।
यस कार्यक्रमको विशेषता लैङ्गिक समानता र समावेशिता रहेको एन्फाका केन्द्रीय सदस्य तथा कैलाली जिल्ला फुटबल संघका अध्यक्ष अनिल मल्लले बताए। उनका अनुसार बालक र बालिका दुवैलाई समान अवसर दिने यस अभियानले शारीरिक अपाङ्गता भएका बालबालिकालाई पनि समावेश गर्ने प्रतिबद्धता लिएको छ। “यहाँका विद्यार्थीहरूका लागि यो ऐतिहासिक उपलब्धि हो। यसले बालबालिकालाई फुटबल खेल्ने मात्र होइन, समग्र व्यक्तित्व विकास गर्ने अवसर प्रदान गर्नेछ,” मल्लले भने।

 

उनले शिक्षक, विद्यार्थी र समुदायका सदस्यहरूलाई यस अभियानमा सक्रिय रूपमा सहकार्य गर्न र यसलाई समर्थन जनाउन आह्वान पनि गरे।
कार्यक्रममा नेम्वाङसँगै उपाध्यक्ष दावा लामा, उपाध्यक्ष दीपक खतिवडा, केन्द्रीय सदस्य मणिराज बिष्ट, पुरुषोत्तम थापा, सरिला श्रेष्ठ, विकास नारायण श्रेष्ठ तथा सुदूरपश्चिम प्रदेश अध्यक्ष दिनेश कुमार श्रेष्ठलगायतको पनि सहभागिता रहेको थियो।


कार्यक्रम कैलाली जिल्ला फुटबल सङ्घको आयोजनामा सम्पन्न भएको हो। कार्यक्रममा कैलाली जिल्ला फुटबल संघका अध्यक्ष अनिल मल्ल, कञ्चनपुर जिल्ला फुटबल संघका अध्यक्ष गणेश चन्द, साथै कैलाली र कञ्चनपुर जिल्लाका विभिन्न क्लबका प्रतिनिधिहरू, स्थानीय निकायका प्रतिनिधि, शिक्षक, विद्यार्थी र समुदायको उल्लेख्य उपस्थिति रहेको थियो।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

Leave a Reply