You are currently viewing विद्याभूषण पब्लिक स्कुलमा उत्साहका साथ मनाइयो खाना महोत्सव

विद्याभूषण पब्लिक स्कुलमा उत्साहका साथ मनाइयो खाना महोत्सव

धनगढी–१३ मोहनपुरस्थित विद्या भूषण पब्लिक स्कुलले शुक्रबार खाना महोत्सव अर्थात फुड फेस्टिभल कार्यक्रम सफलतापूर्वक सम्पन्न गरेको छ। विद्यालयका कक्षा ४ देखि १० सम्मका विद्यार्थीहरूको सक्रिय आयोजनामा सम्पन्न उक्त फेस्टिभलमा परम्परागत तथा आधुनिक खानाका परिकारहरूको प्रदर्शनी तथा बिक्री गरिएको थियो।

विद्यार्थीहरूलाई व्यावहारिक सिप सिकाउने, खानाका परिकार तयार गर्ने तरिका, व्यापारिक सोच विकास गर्ने तथा आयआर्जनको ज्ञान दिलाउने उद्देश्यले फुड फेस्टिभल आयोजना गरिएको विद्यालयले जनाएको छ। फेस्टिभलका क्रममा विभिन्न समूहमा विभाजित विद्यार्थीहरूले करिब ३० प्रकारका खानाका परिकार आफैंले तयार पारेका थिए।

तयार गरिएका खानेकुराहरू स्टलमार्फत विद्यार्थी, अभिभावक, शिक्षक तथा अन्य आगन्तुकहरूलाई बिक्री गरिएको थियो। विद्यार्थीहरूले बिक्री प्रक्रियाबाट मूल्य निर्धारण, नाफा–नोक्सानको हिसाब र ग्राहकसँग व्यवहार गर्ने सीप पनि सिकेको विद्यालयको भनाइ छ।


विद्यालयका सञ्चालक मनोज भट्टका अनुसार फुड फेस्टिभलले विद्यार्थीलाई भविष्यमा व्यवसाय कसरी सञ्चालन गर्ने, खानाका परिकार कसरी तयारी गर्ने र नाफा आर्जन कसरी गर्न सकिन्छ भन्ने व्यवहारिक ज्ञान प्रदान गरेको छ।

फेस्टिभलमा विशेष गरी विभिन्न समुदायमा प्रचलित खानाका परिकार प्रस्तुत गरिएको थियो। थारु समुदायको ढिक्रि, पकौडा, आलु तरकारी, पुरी, जेरी, गुन्द्रुक, मःमः, पानीपुरी, अचार, बिरयानी लगायतका परम्परागत र आधुनिक खानाका परिकारले आगन्तुकको ध्यान आकर्षित गरेको थियो।

कार्यक्रममा अभिभावकहरूको उल्लेखनीय उपस्थिति रहेको थियो। अभिभावकहरूलाई विभिन्न मनोरञ्जनात्मक खेलहरूमा समेत सहभागी गराइएको विद्यालयले जनाएको छ। कार्यक्रममा सहभागी विद्यार्थी तथा अभिभावकहरूले यस्ता व्यावहारिक कार्यक्रमले बालबालिकाको आत्मविश्वास र सृजनशीलता बढाउने प्रतिक्रिया दिएका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

Leave a Reply