प्रदेश स्तरीय प्रधानमन्त्री कप एकदिवसिय क्रिकेट प्रतियोगीतामा कञ्चनपुरले विजयी सुरुवात गरेको छ । धनगढीको फाप्ला खेलमैदानमा मंगलबार सम्पन्न खेलमा कञ्चनपुरले अछामलाई १०८ रनले पराजित गरेको हो । अछामको यो भने लगातार हार हो । उस्ले उद्घाटन खेलमा कैलालीसँग ५८ रनको पराजय भोगेको थियो ।
खराब मौसमका कारण ४० ओभरमा छोट्याइएको खेलमा कञ्चनपुरले प्रस्तुत गरेको २२५ रनको लक्ष्य पछ्याएको अछामले ३२.१ ओभरमा अलआउट हुँदै मात्र ११६ रन जोड्न सफल भयो ।अछामका लागि दिपक टमाटाले सर्वाधिक ४० रनको पारी खेले । ७१ बलको सामना गरेका टमाटाले २ चौका र १ छक्का प्रहार गरे । रमेश भट्टले २६ रन बनाउँदा मदन शाह १२ रनमा अविजित रहे । कप्तान राजु रिजालले २५ बलमा मात्र ११ रन जोड्न सफल भए ।
कञ्चनपुरका लागि कप्तान हेमन्त धामी,विकास आग्री,अरुण ऐरी र राहुल भण्डारीले समान दुई दुई विकेट लिन सफल भए भने सन्तोष दियालले ४ ओभर बलिङ गर्दै १ मेडन राखेर मात्र ५ रन खर्चिदै १ विकेट लिए ।

त्यसअघि टस जितेर पहिला ब्याटिङ गरेको कञ्चनपुरले ३७.५ ओभरमा अलआउट हुँदै २२४ रन बनाएको थियो । कञ्चनपुरका लागि अरुण ऐरी र मिलन बोहराले समान ६१ रनको पारी खेले । २९ बलको सामना गरेका मिलनले ३ चौका र ६ छक्का प्रहार भने ९७ बलको सामना गरेका अरुणले २ चौका र १ छक्का प्रहार गरे । अरुण म्यान अफ दी म्याच चुनिए । किरण कुमार ठगुन्नाले २८ रनको पारी खेल्दा कप्तान हेमन्त धामीले १२ बलमा २२ रन प्रहार गरे ।
अछामका लागि आर्यन बिकले ३ तथा रबिन भण्डारी र रमेश भट्टले समान दुई दुई विकेट लिए । मदन शाह,निराजन गौतम र दिपक शाहीले समान एक एक विकेट लिए । बुधबार कैलाली र डोटीका बीच खेल हुनेछ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?