धनगढी ७ भानुचोकमा रहेको माइलस्टोन ईङ्लिस बोर्डिङ्ग स्कुलले १७औं वार्षिकोत्सव तथा अभिभावक दिवस भव्यताका साथ सम्पन्न गरेको छ । विद्यालयको प्रांगणमा आयोजना गरिएको उक्त वार्षिकोत्सव समारोहको अध्यक्षता संस्थापक प्रिन्सिपल भुवन मल्लले गरेका थिए भने प्रमुख अतिथि सुदूपश्चिम विश्वविद्यालयका डिन तथा कैलाली बहुमुखी क्याम्पसका पूर्व क्याम्पस प्रमुख प्राध्यापक डा.पदम राज जोशी रहेका थिए ।

प्रमुख अतिथि जोशीले भर्खरैको नौजवानले देशमै केहि गर्छु त्यसमा पनि शिक्षा क्षेत्रबाट समाज सेवा गर्छु भनेर विद्यालयमा लगानी लगाउने कुरा निकै प्रेरणादायी रहेको भन्दै प्रिन्सिपल भुवन मल्लको प्रशंसा गरे । जोशीले देश सकियो,बर्बाद भयो भनेर एकातिर नकरात्मक भाष्य सिर्जना भैरहेका बेला देशमै केहि गर्न सकिन्छ भनेर आफू सँगै सयौंलाई रोजगारी दिने योजना बनाउनुले समाजमा निकै राम्रो सन्देश प्रवाह भएको बताए ।

डा.जोशीले २०४२ सालमा आफू कक्षा ११ मा कैलाली बहुमुखी क्याम्पसमा अध्ययन गर्दैगर्दाको धनगढी भन्दा अहिलेको धनगढीमा जनघनत्व,व्यवसाय,बजार विस्तार र धनगढीको ब्राण्ड भ्यालुमा पनि निकै फरक आइसकेको भन्दै राम्रो व्यवस्थापन गर्न सके अब शैक्षिक संस्थाहरु जतिधेरै भएपनि ढुक्कसँग चल्नसक्ने वातावरण बनिसकेको धारणा व्यक्त गरे ।

वार्षिकोत्सव समारोहमा विद्यार्थीहरुले उस्सुको डेमो प्रर्दशनी सुन्दर तरिकाले गरेका थिए । राष्ट्रभक्तीपूर्ण गीतमा विद्यार्थीहरुले गरेको नृत्य पनि निकै आकर्षक थियो । त्यस्तै विद्यार्थीहरुले सामाजिक विषयमा चोटिलो प्रहार गर्नेगरी लघु नाटक पनि प्रस्तुत गरेका थिए । नाटकमा विद्यार्थीहरुको जिवन्त अभिनयको अतिथिहरुले प्रशंसा गरेका थिए ।

सना नानीबाबुदेखि कक्षा ८ सम्मका विद्यार्थीहरुले भिन्न भिन्न समूहमा गरेर आकर्षक नृत्य प्रस्तुत गरे । कक्षा ७ र ८ का विद्यार्थीहरुले ठट्यौली गीतमा सुन्दर अभिनय गरेका थिए ।उक्त वार्षिकोत्सव तथा अभिभावक दिवस समारोहमा विद्यार्थीहरुले भिन्न भिन्न विषयमा वक्तृत्व प्रस्तुत गर्नुका साथै सामूहिक गायन मार्फत पनि दर्शकहरुलाई मनोरञ्जन दिलाए । कार्यक्रममा एसपिए कलेजका क्रेटिभ डाइरेक्टर तारा रोस्याराले केहि प्रेरणादायी कुराहरु सुनाएका थिए ।

कार्यक्रममा उपस्थित अतिथिहरुले शुभकामना दिदै नयाँ व्यवस्थापन सहितको टिम माइलस्टोन स्कुलले छोटो समयमै निकै राम्रो फड्को मारेको बताएका छन । उनीहरुले प्रिन्सिपल भुवन मल्ल निकै जिम्मेवार तथा सकरात्मक युवा भएको भन्दै विद्यालयको भविष्य सुन्दर रहेको बताए ।

१७औं वार्षिकोत्सव तथा अभिभावक दिवस समारोहमा धनगढीमा बसेर पाँच दशक भन्दा अधिक समयदेखि साहित्यका क्षेत्रमा योगदान पुर्याएको भन्दै सुदूरपश्चिमाञ्चल साहित्य समाजका संस्थापक अध्यक्ष तथा साहित्यकार यज्ञराज यात्रीलाई विशेष सम्मान गरिएको छ । यात्रीलाई कार्यक्रमका प्रमुख अतिथि सुदूरपश्चिम विश्वविद्यालय व्यवस्थापन संकायका डिन तथा कैलाली बहुमुखी क्याम्पसका पूर्व क्याम्पस प्रमुख प्राध्यापक डा.पदम राज जोशीले दोसल्ला ओढाएर सम्मान गरेका थिए ।

वार्षिकोत्सव तथा अभिभावक दिवसमा विद्यालयले आयोजना गरेको खेल सप्ताहमा विभिन्न पदक ल्याउने विद्यार्थीहरुलाई कार्यक्रमका अतिथिहरुले प्रमाणपत्र सहित पुस्कृत गरेका थिए ।

कार्यक्रममा विद्यालयले एउटा नयाँ अभ्यास पनि के गरेको थियो भने आमन्त्रीत अतिथिलाई मायाको चिनोको रुपमा पुस्तक उपहार दिइएको थियो । पछिल्लो समय पठन संस्कृतिमा कमि आइरहेका बेला विद्यालयले आमन्त्रीत अतिथिलाई मायाको चिनो स्वरुप पुस्तक उपहार दिने चलन धेरै राम्रो लागेको भन्दै यस्ता सृजनशील कार्यले धनगढीलाई बौद्धिक र समृद्ध शहर बनाउन थप टेवा पुग्ने अतिथिहरुले बताए ।

उक्त कार्यक्रममा धनगढीका प्रतिष्ठित विद्यालयका संस्थापक तथा प्रिन्सिपल लगायत समाजका विभिन्न क्षेत्रका व्यक्तिहरुको बाक्लो उपस्थिति रहेको थियो । कार्यक्रमको सञ्चालन विद्यालयकी शिक्षिका बिस्ना बोहरा र सोहि विद्यालयका शिक्षक किरण विश्वकर्माले गरेका थिए ।

२०६५ सालमा स्थापना भएपनि यो विद्यालय पछिल्ला केहि वर्षयतादेखि नयाँ व्यवस्थापनका साथ बिरेन्द्र मल्लको संरक्षकत्वमा सञ्चालित छ । विद्यालयको नेतृत्व मल्लका सुपुत्र भुवन मल्लले गरिरहेका छन । भुवन कैलालीकै सबैभन्दा कान्छा प्रिन्सिपल हुन । कक्षा नर्सरीदेखि कक्षा ८ सम्म पठनपाठन भैरहेको यस विद्यालयमा ४८० जना विद्यार्थी अध्ययनरत छन भने ४० जना कर्मचारी कार्यरत रहेको विद्यालय प्रशासनले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?