You are currently viewing “चैतन्य कला साहित्य साधना पुरस्कार–२०८२” बाट सर्जक निर्मल कुमार भण्डारी सम्मानित

“चैतन्य कला साहित्य साधना पुरस्कार–२०८२” बाट सर्जक निर्मल कुमार भण्डारी सम्मानित

धनगढी- “ज्ञानको उत्सव, सहृदयताको सम्मान” भन्ने नाराका साथमा सुरु भएको चैतन्य पाठशालाको २५औं वार्षिकोत्सव समारोहको अवसरमा साहित्य तथा कला क्षेत्रमा दीर्घकालीन योगदान पु¥याएका सर्जक निर्मल कुमार भण्डारीलाई विशेष सम्मान प्रदान गरिएको छ । विद्यालयले समाजमा सृजनशीलता, साहित्य र सांस्कृतिक चेतनाको प्रवर्द्धनमा योगदान दिने व्यक्तित्वहरूको कदर गर्ने उद्देश्यले हरेक वर्ष प्रदान गर्दै आएको सम्मान अन्तर्गत यस वर्ष भण्डारीलाई “चैतन्य कला साहित्य साधना पुरस्कार–२०८२” प्रदान गरिएको हो ।

सुदूरपश्चिम विश्वविद्यालयका रजिस्ट्रार तथा कैलाली बहुमुखी क्याम्पसका पूर्व क्याम्पस प्रमुख प्राध्यापक डा। हेमराज पन्त, आध्यात्मिक चिन्तक चैतन्य कृष्ण महाराजज्यू, चैतन्य पाठशालाका प्राचार्य प्रेमनिधि ओझा र पाठशालाका अध्यक्ष गणेश प्रसाद जोशीले सामूहिक रूपमा खादा माला दोसल्ला, अभिनन्दन पत्र र नगद रु. २५ हजारसहित “चैतन्य कला साहित्य साधना पुरस्कार–२०८२” प्रदान गरेको हो ।

वि.सं. २०१३ साल माघ १२ गते डोटी जिल्लाको जोरायल गाउँपालिका–३ मा जन्मिएका भण्डारी नेपाली तथा स्थानीय भाषा–साहित्यको विकासमा समर्पित सर्जकका रूपमा परिचित रहेका छन् ।वि।सं। २०३८ सालदेखि निरन्तर रूपमा साहित्य सिर्जनामा सक्रिय रहँदै आएका भण्डारीले छन्द कविता, डोटेली गीत तथा विभिन्न साहित्यिक विधामा उल्लेखनीय रचनाहरू सिर्जना गर्दै साहित्यिक क्षेत्रमा महत्त्वपूर्ण योगदान पु¥याएको र उनका सिर्जनाहरूले स्थानीय संस्कृति, भाषा, परम्परा तथा समाजका विविध पक्षलाई उजागर गर्दै साहित्यिक जगतमा विशेष स्थान बनाएको चैतन्य पाठशालाका प्राचार्य प्रेमनिधि ओझाले बताए ।

 

सम्मान ग्रहण गर्दै सर्जक निर्मल कुमार भण्डारीले आफूलाई गरिएको सम्मानले थप प्रेरणा र जिम्मेवारी बोध गराएको बताए । उनले साहित्य सिर्जना केवल व्यक्तिगत अभिव्यक्ति मात्र नभई समाज र संस्कृतिप्रतिको उत्तरदायित्व पनि भएको उल्लेख गर्दै आगामी दिनमा पनि साहित्यिक साधनालाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरे ।

विद्यालय परिवारका अनुसार शिक्षा, कला, साहित्य र समाजसेवामा उल्लेखनीय योगदान पु¥याएका व्यक्तित्वहरूको सम्मानले समाजमा सकारात्मक सन्देश फैलाउने र नयाँ पुस्तालाई प्रेरणा प्रदान गर्ने विश्वास लिइएको छ । कार्यक्रममा शिक्षक, विद्यार्थी, अभिभावक, साहित्य प्रेमी तथा स्थानीय समाजसेवीहरूको उल्लेखनीय सहभागिता रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

Leave a Reply