पीएम कपमा हेमन्त धामीले कीर्तिमानी बलिङ प्रदर्शन गरेपछि सुदूरपश्चिम प्रदेशविरुद्ध बागमती प्रदेश ४६ रनमै अलआउट भएको छ ।आइतबार जनकपुरमा भएको खेलमा सुदूरपश्चिमले दिएको २१० रनको लक्ष्य पछ्याएको बागमती ११।२ ओभरमा ४६ रनमै अलआउट भएको हो । बाग्मतीका लागि शुभ कंसाकारले सर्वाधिक ३२ रन बनाए ।

अन्य ब्याटरले दोहोरो अंकमा रन छुनै सकेनन् । ५ खेलाडी शून्यमै आउट भएका थिए । हेमन्तले घातक बलिङ गर्दै ६ ओभरमा १४ रन मात्र दिएर ७ विकेट लिए । स्पीनर शेर मल्लले ३ विकेट लिए ।
हेमन्तको पीएम कप इतिहासकै उत्कृष्ट बलिङ हो । यसअघि नेपाल पुलिस क्लबका दीपेन्द्रसिंह ऐरीले १० ओभरमा २० रन दिएर ७ विकेट लिएका लिए । हेमन्तले कम रन खर्चिएर ७ विकेट लिएका हुन् ।

यस्तै बागमतीको यो पीएम कप इतिहासकै कम योगफल हो भने समग्र पीएम कप इतिहासकै चौथो कम योगफल हो । यसअघि बागमती गत संस्करणमा लुम्बिनी प्रदेशविरुद्ध ६७ रनमा पनि अलआउट भएको छ ।
खेलमा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको सुदूरले ४२.१ ओभरमा अलआउट हुँदै २०९ रन बनाएको थियो । नारायण जोशीले सर्वाधिक ७५ रन बनाए भने दिपक बोहराले ४० अनि अभिषेक पालले ३९ रन बनाए । बागमतीका प्रतिश जीसी र सन्दीप लामिछानेले ४/४ विकेट लिए । रिजन ढकाल र सोनु देवकोटाले १/ १ विकेट लिए ।

योसँगै ६ खेलमा पाँचौं जित निकालेको सुदूरपश्चिम १० अंकका साथ शीर्षस्थानमा उक्लिएको छ । सुदूरले शीर्ष ४ मा पर्ने सम्भावना बलियो बनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?