You are currently viewing न्युजिल्यान्डका पेस बलर स्कट कुगेलेइनले पुनः सुदूरपश्चिम रोएल्सबाटै नेपाल प्रिमियर लिग खेल्ने

न्युजिल्यान्डका पेस बलर स्कट कुगेलेइनले पुनः सुदूरपश्चिम रोएल्सबाटै नेपाल प्रिमियर लिग खेल्ने

नेपाल प्रिमियर लिग (NPL) को तेस्रो संस्करणका लागि न्युजिल्यान्डका तीव्र गतिका बलर स्कट कुगेलेइनलाई सुदूरपश्चिम रोयल्सले पुनः अनुबन्ध गरेको छ।सुदूरपश्चिमले कुगेलेइनलाई तेस्रो विदेशी खेलाडीका रूपमा टोलीमा समावेश गरेको हो। यसअघि टोलीले इंग्ल्यान्डका सेफ जैबलाई अनुबन्ध गरिसकेको छ।
कुगेलेइनले NPL को पहिलो संस्करणमा सुदूरपश्चिमबाट उत्कृष्ट प्रदर्शन गर्दै ९ खेलमा १७ विकेट लिएका थिए। उनी प्रतियोगितामा सर्वाधिक विकेट लिने खेलाडीको सूचीमा संयुक्त रूपमा शीर्ष स्थानमा रहेका थिए। दोस्रो संस्करणमा भने उनले ९ खेलमा १० विकेट हात पारे।तेस्रो सिजनका लागि पुनः टोलीमा फर्किन पाउँदा उत्साहित रहेको कुगेलेइनले बताएका छन्। ‘म फेरि सुदूरपश्चिमबाट खेल्न उत्साहित छु,’ उनले भने।
सुदूरपश्चिम रोयल्सका प्रमुख कार्यकारी अधिकृत प्रकाश खड्काले कुगेलेइनलाई पुनः टोलीमा स्वागत गर्न पाउँदा खुसी लागेको बताए। उनले कुगेलेइनबाट यसपटक पनि पहिलो र दोस्रो संस्करणमा जस्तै महत्वपूर्ण योगदानको अपेक्षा रहेको बताए।
तेस्रो संस्करणका लागि सुदूरपश्चिमले कप्तान दीपेन्द्रसिंह ऐरीसहित विनोद भण्डारी, आरिफ शेख, इशान पाण्डे, अभिनाश बोहरा, हेमन्त धामी र हिक्मत महरालाई टोलीमा निरन्तरता दिएको छ।
यस्तै, अक्सनबाट दीपक बोहरा, मिलन बोहरा, टेक रावत, अनिल खरेल, सचिन भट्ट र आयुव चन्दलाई टोलीमा अनुबन्ध गरिएको छ।
अब कुगेलेइनको पुनरागमनसँगै सुदूरपश्चिमको बलिङ आक्रमण थप बलियो हुने अपेक्षा गरिएको छ। पहिलो संस्करणमा फाइनल पुगेको सुदूरपश्चिमले तेस्रो सिजनमा पहिलो NPL उपाधि जित्ने लक्ष्य राखेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

Leave a Reply