भोटेकोशी क्षेत्रमा आएको विनाशकारी बाढीबाट प्रभावित परिवारको राहत तथा पुर्नस्थापनाका लागि धनगढी नगर प्याब्सनले २८ लाख ६१ हजार १० रुपैयाँ आर्थिक सहयोग गर्दै ठूलो मानविय काम गरेको छ । सोमबार धनगढीमा पत्रकार सम्मेलन गर्दै धनगढी नगर प्याब्सनले राहत संकलन अभियान सञ्चालन गरी प्याब्सनअन्तर्गतका सदस्य विद्यालयका सञ्चालक, व्यवस्थापन, प्रधानाध्यापक, शिक्षक, कर्मचारी तथा विद्यार्थीबाट उक्त रकम संकलन गरेको जानकारी गराएको हो ।

संकलित रकम प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा जम्मा गर्ने गरी प्याब्सन कैलाली जिल्ला कमिटीका वरिष्ठ उपाध्यक्ष छत्रराज पण्डितमार्फत जिल्ला कार्यसमितिको समन्वयमा हस्तान्तरण गरिएको हो। नगर प्याब्सनका अध्यक्ष ध्रुवबहादुर सिंहले बाढीका कारण ठूलो जनधनको क्षति भएकाले पीडित परिवारलाई राहत उपलब्ध गराउने उद्देश्यले आर्थिक सहयोग संकलन अभियान सञ्चालन गरिएको बताए। बाढीपिडितको घाउमा मलम पट्टी लगाउन धनगढी नगर प्याब्सनमा आबद्ध ३९ विद्यालयले आर्थिक सहयोग गरेका थिए ।

प्राकृतिक विपद्का समयमा पीडितलाई सहयोग गर्नु सामाजिक उत्तरदायित्व भएकाले विद्यालय परिवारलाई अभियानमा सहभागी गराइएको उनले बताए।
राहत अभियानमा सहभागी भई सहयोग गर्ने सदस्य विद्यालय, सञ्चालक, प्रधानाध्यापक, शिक्षक, कर्मचारी तथा विद्यार्थीलाई प्याब्सनले धन्यवादसमेत दिएको छ।
त्यस्तै, प्याब्सनले बाढीपीडितको उद्धार, राहत तथा पुनःस्थापनाको कामलाई थप प्रभावकारी बनाउन सम्बन्धित सरकारी निकाय तथा सरोकारवालासँग आग्रह गरेको छ।प्याब्सनका केन्द्रीय उपाध्यक्ष ललितराज पन्तले आगामी दिनमा पनि सामाजिक तथा मानवीय सेवाका कार्यमा धनगढी नगर प्याब्सनले आफ्नो क्षमता र सामर्थ्यअनुसार निरन्तर सहकार्य गर्ने अपेक्षा राखेको बताए । उक्त रकम हस्तान्तरण कार्यक्रममा प्याब्सनका केन्द्रिय उपाध्याक्षललित राज पन्त,कैलाली प्याक्सनका पदाधिकारी तथा सदस्यहरु,धनगढी नगर प्याब्सनका अध्यक्ष लगायत सम्पूर्ण पदाधिकारीहरु र विभिन्न विद्यालयका संञ्चाल तथा प्रिन्सिपलहरुको उपस्थिति रहेको थियो ।
गत भाद्र १० गते बिहानपख चीनको तिब्बततर्फबाट रसुवाको भोटेकोशी हुँदै त्रिशूली नदीमा आएको बाढीका कारण रसुवा, धादिङ, नुवाकोट, गोरखालगायत जिल्लामा ठूलो मानवीय तथा भौतिक क्षति भएको थियो । अहिलेसम्म एक हजार ३ सयभन्दा बढी मानिसको मृत्य भइसकेको पुष्टि भएको छ भने हजारौं नागरिक सम्पर्क विहिन छन । हाल राज्यले आफ्ना सबै संयन्त्र प्रयोग गर्दै उद्धार तथा राहत एंव पुर्नस्थापनाको काम तिब्र रुपमा अगाडि बढाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?