एसोसिएसन अफ प्रि–स्कुल एजुकेटर्स नेपाल (अपेन) कैलालीको आयोजनामा अंग्रेजी तथा नेपाली फोनिक्ससम्बन्धी प्रशिक्षण कार्यक्रम धनगढीमा सम्पन्न भएको छ।अपेन कैलालीका अध्यक्ष शंकरबहादुर मल्लको अध्यक्षतामा सम्पन्न कार्यक्रममा अपेन केन्द्रीय महासचिव सम्झना बस्नेतको विशेष सहभागिता रहेको थियो। कार्यक्रममा अपेन केन्द्रीय भूगोल उपाध्यक्ष सुजितराज शर्मा प्रमुख अतिथिका रूपमा सहभागी हुनुभएको थियो।

कार्यक्रममा अपेन सुदूरपश्चिम प्रदेश अध्यक्ष मोहनराज ओझा, प्रदेश सचिव सुरेन्द्र बोहरा, कञ्चनपुर जिल्ला अध्यक्ष सरस्वती चन्द भट्ट, प्रदेश कोषाध्यक्ष भोवी कटुवाल तथा नेसनल प्याब्सन नगर अध्यक्ष रमेश सिंहलगायतको विशिष्ट आतिथ्यता रहेको थियो।
प्रशिक्षणमा करिब ३० विद्यालयका शिक्षक तथा प्रतिनिधिहरूको सहभागिता रहेको थियो। कार्यक्रममा प्रारम्भिक बालशिक्षामा अंग्रेजी तथा नेपाली फोनिक्सको प्रयोग, बालबालिकाको सही उच्चारण क्षमता विकास तथा भाषा सिकाइलाई प्रभावकारी बनाउने उपायबारे प्रशिक्षण र छलफल गरिएको थियो।
प्रारम्भिक तहका बालबालिकालाई भाषा सिकाउँदा सही उच्चारण, ध्वनि पहिचान तथा अक्षर र ध्वनिबीचको सम्बन्धलाई प्रभावकारी रूपमा प्रस्तुत गर्ने विषयमा सहभागी शिक्षकहरूलाई प्रयोगात्मक जानकारीसमेत दिइएको थियो।

कार्यक्रमको सञ्चालन अपेन कैलालीका जिल्ला सचिव सरिता शाहले गर्नुभएको थियो। अपेनले प्रारम्भिक बालशिक्षाको गुणस्तर अभिवृद्धि तथा शिक्षकको क्षमता विकासका लागि यस्ता प्रशिक्षणमूलक कार्यक्रमलाई निरन्तरता दिँदै आएको जनाएको छ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?