काठमाण्डौं -धनगढी रुटमा अचाल्की रुपमा बढाइएको हवाइ भाडादरप्रति कैलाली ५ बाट निर्वाचित सांसद डा.आनन्द बहादुर चन्दको ध्यानाकर्षण

काठमाण्डौं – धनगढी रुटमा अचाल्की रुपमा बढाइएको हवाइ भाडादरप्रति कैलाली ५ बाट निर्वाचित सांसद डा.आनन्द बहादुर चन्दको सरकारको ध्यानाकर्षण गराएका छन । विहिबार सामाजिक सञ्जाल मार्फत सांसद चन्दले काठमाडौँ–दिल्लीको हवाई भाडा भन्दा काठमाडौँ–धनगढीको भाडादर निकै मंहगो भएको भन्दै तुरुन्तै पुनरावलोकन गरी नागरिकले धान्न सक्ने स्तरमा ल्याउन आग्रह गरेका छन ।

उनले सामाजिक सञ्जालमा थप लेखेका छन : 

काठमाडौँ–दिल्लीको हवाई भाडा रु. १५,९०१, तर काठमाडौँ–धनगढीको रु. २२,१८० ! आफ्नै देशको सुदूरपश्चिम पुग्न किन यति महँगो? हिजो काठमाडौँबाट धनगढी आउने क्रममा धेरैजसो यात्रुहरूको गुनासो एउटै थियो—हवाई भाडा अत्यधिक महँगो भयो। विगत दुई दिनदेखि सामाजिक सञ्जाल तथा व्यक्तिगत सन्देशमार्फत पनि यही विषयमा नागरिकहरूको गुनासो र आक्रोश प्राप्त भइरहेको छ।
सुदूरपश्चिममा अझै पनि करिब एकतिहाइ नागरिक गरिबीको रेखामुनि रहेको अवस्थामा एकतर्फी हवाई यात्राकै लागि रु. २२ हजारभन्दा बढी तिर्नुपर्ने अवस्था कति न्यायोचित छ? बिरामी, विद्यार्थी, रोजगारीका लागि आवतजावत गर्ने नागरिक तथा अत्यावश्यक कामले यात्रा गर्नुपर्ने सर्वसाधारणले यस्तो भाडा कसरी धान्ने?
हवाई भाडा माग र आपूर्तिका आधारमा निर्धारण हुने कुरा हामी बुझ्छौँ। सरकारले हवाई भाडा निर्धारणका निश्चित मापदण्ड र अधिकतम सीमा पनि तोकेको छ। तर निर्धारित सीमाभित्रै भए पनि यति महँगो भाडा आम नागरिकको आर्थिक पहुँचभन्दा बाहिर छ। कानुनी रूपमा स्वीकार्य हुनु र नागरिकका लागि सर्वसुलभ हुनु फरक कुरा हुन्।मैले यस विषयमा सम्माननीय प्रधानमन्त्रीज्यू तथा सम्बन्धित निकायहरूको ध्यानाकर्षण गराएको छु।
सम्माननीय प्रधानमन्त्रीज्यूले “सुदूर अब दूर नाई, झिक्कै झिक्कै माया तमलाई” भन्दै सुदूरपश्चिमप्रति व्यक्त गर्नुभएको आत्मीयता र गेटामा शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय तथा शिक्षण अस्पताल सञ्चालनका लागि देखाउनुभएको तत्परताले सुदूरपश्चिमवासीमा ठूलो आशा र विश्वास जगाएको छ। आवश्यक बजेट विनियोजन भई चिकित्सा शिक्षा आयोगको निरीक्षणसमेत सम्पन्न हुनु त्यसैको महत्वपूर्ण उपलब्धि हो।
अब त्यही संवेदनशीलता काठमाडौँ–धनगढी हवाई भाडाको समस्यामा पनि देखिनेछ भन्ने हाम्रो अपेक्षा छ।
यसका लागि मेरा तीनवटा आग्रह छन्:
१. काठमाडौँ–धनगढी हवाई भाडाको तत्काल पुनरावलोकन गरी नागरिकले धान्न सक्ने स्तरमा ल्याइयोस्।
२. यात्रुको चापलाई ध्यानमा राख्दै कम्तीमा दुईवटा थप नियमित उडानको व्यवस्था गरियोस्।
३. हवाई भाडा निर्धारण र टिकट बिक्रीमा पारदर्शिता कायम गरी अस्वाभाविक मूल्यवृद्धि तथा सम्भावित अनुचित व्यापारिक अभ्यासको अनुगमन गरियोस्।
यहाँ प्रस्तुत दुईवटा हवाई भाडाका स्क्रिनसट फरक–फरक मितिका हुन्। तर यी उदाहरणले सुदूरपश्चिमवासीले उठाइरहेको महँगो हवाई भाडासम्बन्धी गुनासोलाई स्पष्ट रूपमा उजागर गर्छन्।सुदूरपश्चिम भूगोलले टाढा होला, तर राज्यको सेवा र सुविधाबाट टाढा हुनुहुँदैन।सुदूरपश्चिमवासीको पीडा, आवाज र अपेक्षालाई सम्बन्धित निकायसम्म पुर्‍याउने तथा समाधानका लागि निरन्तर पहल गर्ने प्रतिबद्धता व्यक्त गर्दछु।

 

 

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

Leave a Comment

Your email address will not be published. Required fields are marked *

Scroll to Top