NPL सिजन -३ को टुर्नामेन्ट डाइरेक्टरको जिम्मेवारी धीरेन्द्र सावदलाई

आगामी कात्तिक ९ गतेदेखि मंसिर ५ गतेसम्म कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा सञ्चालन हुने नेपाल प्रिमियर लिगको तेश्रो संस्करणको टुर्नामेन्ट डाइरेक्टरको जिम्मेवारीमा नेपाल क्रिकेट संघ क्यानका केन्द्रीय सदस्य धिरेन्द्र सावदलाई दिइएको छ ।प्रतियोगीतालाई व्यवस्थित, प्रतिस्पर्धात्मक र प्राविधिक रूपमा स्तरीय बनाउन सावदले महत्त्वपूर्ण भूमिका निर्वाह गर्ने अपेक्षा गरिएको छ।

 

यसपटकको एनपीएललाई अन्तर्राष्ट्रिय स्तरमा थप स्थापित गर्ने उद्देश्यसहित प्रतियोगिताको तयारीलाई भव्य रूपमा अगाडि बढाइएको छ। हालै अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) बाट स्वीकृति प्राप्त गरेको एनपीएलका यस सिजनका खेलले लिस्ट ‘ए’ क्रिकेटको मान्यतासमेत पाएका छन्। यसले प्रतियोगिताको आधिकारिकता र महत्त्वलाई थप उचाइ दिने अपेक्षा गरिएको छ।

त्यस्तै, एनपीएल सिजन–३ देखि नेपाल क्रिकेट संघले डिसिजन रिभ्यु सिस्टम (डीआरएस) प्रविधिको प्रयोग गर्ने तयारी गरेको छ। डीआरएसको प्रयोगले अम्पायरका निर्णयलाई पुनरावलोकन गर्न सहज बनाउनुका साथै खेलको प्राविधिक पक्षलाई थप प्रभावकारी बनाउने विश्वास गरिएको छ।

आईसीसीको मान्यता, लिस्ट ‘ए’ को दर्जा र डीआरएस प्रविधिको प्रयोगले यसपटकको एनपीएलको प्रतिस्पर्धात्मक स्तर थप उकास्ने अपेक्षा गरिएको छ। प्रतियोगिताको व्यवस्थापनदेखि प्राविधिक पक्षसम्म सुधार गर्ने प्रयासले नेपाली क्रिकेटलाई अन्तर्राष्ट्रिय स्तरमा थप स्थापित गर्न सहयोग पुग्ने विश्वास लिइएको छ।

 

Leave a Comment

Your email address will not be published. Required fields are marked *

Scroll to Top