काठमाडौँ । तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल)मा शुक्रबारको दोस्रो खेलमा चितवन राईनोजले जनकपुर बोल्ट्सलाई ४ विकेटले हराउँदै प्ले अफ नजिक पुगेको छ । जनकपुरले दिएको ८९ रनको लक्ष्य पछ्याएको चितवनले १७ ओभर २ बलमा ६ विकेट गुमाएर लक्ष्य पूरा गर्यो ।

चितवनका डेभिड मलानले ३९ बलमा १ छक्कासहित अविजित ३५ रन बनाए । यस्तै कुशल मल्लले २५ बलमा १ चौकासहित १५, रवि बोपाराले १६ बलमा ३ चौकासहित १३ र कामिल मिश्राले ६ बलमा १ छक्का र १ चौकासहित १२ रन बनाए । जनकपुरका राहुल यादवले ३, कप्तान हर्मित सिंहले २ र विशाल शुस्लिङले १ विकेट लिए ।
त्यसअघि कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस जितेर ब्याटिङ गरेको जनकपुरले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर ८८ रन बनाएको थियो ।
जनकपुरका कप्तान हर्मित सिंहले २५ बलमा १ छक्का र २ चौकासहित २५, विशाल शुस्लिङले १३ बलमा १ छक्का र १ चौकासहित १५ रन र सन्तोष कार्कीले ११ बलमा १ छक्कासहित १० रन बनाए ।
चितवनका रन्जित कुमारले ३ ओभरमा १ मेडेन राख्दै २ रन खर्चेर ३ विकेट लिए । यस्तै कप्तान सिकन्दर राजा, कमलसिंह ऐरी र कामिल मिश्राले समान २ तथा रिजन ढकालले १ विकेट लिए । यो जितसँगै चितवन ६ खेलमा ७ अंकसहित चौथो स्थानमा पुगेको छ भने पराजित जनकपुर ७ खेलमा ४ अंकसहित लिग चरणबाटै बाहिरिएको छ । चितवनको जितले कर्णाली याक्स पनि लिग चरणबाटै बाहिरिएको छ । कर्णालीको ६ खेलमा ४ अंकमात्रै छ । उसको एक खेल बाँकि छ ।