चैतन्य यू–१४ अन्तरविद्यालय फुटबल प्रतियोगिताको ट्रफी सार्वजनिक

धनगढी: ‘चैतन्य पाठशाला यू–१४ अन्तरविद्यालय जिल्ला स्तरीय छात्र/छात्रा फुटबल प्रतियोगिता–२०८३’ को ट्रफी सार्वजनिक गरिएको छ। मङ्गलवार चैतन्य पाठशालामा आयोजित कार्यक्रममा ट्रफी सार्वजनिक गरिएको हो।

कार्यक्रमका प्रमुख अतिथि सुदूरपश्चिम प्रदेश खेलकुद परिषद्का सदस्य सचीव लोकबहादुर खड्काले ट्रफी सार्वजनिक गरेका हुन्।

 

चैतन्य पाठशाला, धनगढीको आयोजनामा कैलाली जिल्ला फुटबल संघले सञ्चालन गर्न लागेको ‘चैतन्य पाठशाला यू–१४ अन्तरविद्यालय जिल्ला स्तरीय छात्र/छात्रा फुटबल प्रतियोगिता–२०८३’ मंसिर २५ देखि पुस ९ गतेसम्म धनगढी रङ्गशालामा आयोजना हुनेछ।
‘फुटबल फर स्कूल : रोड टु वर्ल्ड कप’ कार्यक्रमसँग जोडिएको यस प्रतियोगिताको मुख्य उद्देश्य बालबालिकामा फुटबलप्रतिको रुचि अभिवृद्धि गर्नु, विद्यालयस्तरबाटै प्रतिभावान् खेलाडीको पहिचान गर्नु तथा जिल्लामा फुटबल खेलको विकास र प्रवर्द्धन गर्नु रहेको आयोजक चैतन्य पाठशाला धनगढीका अध्यक्ष गणेशप्रसाद जोशीले बताए। उनले यो वर्षबाट सुरू हुन लागेको प्रतियोगिता हरेक वर्ष सञ्चालन गर्ने बताए। “ग्रासरुट फुटबलको विकास गर्ने उद्देश्यले चैतन्य पाठशालाले कैलाली जिल्ला फुटबल संघसँग मिलेर हरेक वर्ष आयोजना गर्नेछ,” उनले भने, “यो प्रतियोगितालाई आगामी दिनमा प्रदेशस्तरी बनाइनेछ भने परिस्कृतसमेत बनाउँदै लग्ने छौँ।”अध्यक्ष जोशीले फुटबल खेलाडीमा विश्वस्तरीय सक्षमता हासिल गर्ने आधार विद्यालयहरूले गर्नुपर्ने बताए।

कैलाली जिल्ला फुटबल संघका अध्यक्ष अनिल मल्लले फुटबल प्रतियोगिता गर्न चैतन्य पाठशालासँग सहकार्य गर्न पाउँदा खुसी लागेको बताए। उनले १५ वर्षमुनिको साफ च्याम्पियनसीप प्रतियोगिताका लागि उत्कृष्ट खेलाडी छ्नोट गर्ने उद्देश्यले १४ वर्षमुनिका छात्र/छात्राको फुटबल प्रतियोगिता गर्न लागिएको स्पष्ट पारे।

कार्यक्रमका प्रमुख अतिथि, सुदूरपश्चिम प्रदेश खेलकुद परिषद्का सदस्य-सचीव लोकबहादुर खड्काले शिक्षासँगै खेलकुद र समाजसेवाको क्षेत्रमा चैतन्य पाठशालाले उल्लेखनीय काम गर्दै आएको बताए। यस्तै, सदस्य-सचीव खड्काले खेलकुदका हरेक कार्यक्रमलाई प्रदेश खेलकुद परिषद्ले सहयोग गर्ने बताए।

मंसिर २५ देखि पुस ९ गतेसम्म आयोजना हुने प्रतियोगितामा छात्रतर्फ १६ र छात्रातर्फ १६ गरी कैलाली जिल्लाका कुल ३२ विद्यालयका फुटबल टोलीको सहभागिता रहनेछ। प्रत्येक टोलीमा अतिरिक्त खेलाडीसहित २० जना खेलाडी तथा प्रशिक्षक, व्यवस्थापक र फिजियोथेरापिस्टसहित २३ जना रहनेछन्। यसअनुसार ३२ टोलीका अफिसियलसहित ७३६ जनाको प्रत्यक्ष सहभागिता रहनेछ। प्राविधिक तथा व्यवस्थापन पक्षसमेत जोड्दा खेलाडी, अफिसियल र रेफ्री गरी ७५० जनाभन्दा बढीको सहभागिता रहने अपेक्षा गरिएको छ।

प्रतियोगितामा प्रथम हुने टोलीले नगद एक लाख रुपैयाँ र द्वितीय हुने टोलीले ५० हजार रुपैयाँ पुरस्कार प्राप्त गर्नेछन्। विजेता तथा उपविजेता टोलीलाई ट्रफी, मेडल र प्रमाणपत्रसमेत प्रदान गरिनेछ। प्रतियोगिताले जिल्लामा विद्यालयस्तरीय फुटबलको विकास, छात्रछात्राको खेल सहभागिता अभिवृद्धि तथा भविष्यका प्रतिभावान् खेलाडी उत्पादनमा योगदान पुग्ने विश्वास आयोजक चैतन्य पाठशालाको छ।

Leave a Comment

Your email address will not be published. Required fields are marked *

Scroll to Top