नरेश श्रेष्ठ मेमोरियल यु-१९ राष्ट्रिय पुरुष क्रिकेट प्रतियोगीताको तयारी पूरा भएको छ । आयोजक संस्था सुदूरपश्चिम प्रादेशिक क्रिकेट संघले बुधबार पत्रकार सम्मेलन गर्दै प्रतियोगीताको सम्पूर्ण तयारी पूरा भएको जानकारी गराएको हो ।

सुदूरपश्चिम प्रादेशिक क्रिकेट संघको आयोजना र नेपाल क्रिकेट संघ क्यानको मुख्य प्रवद्र्धनमा भोली मंसिर १० गतेबाट सुरु भई मंसिर २४ गतेसम्म सञ्चालन हुने उक्त प्रतियोगीतामा ७ ओटै प्रदेशका यु१९ टोलीहरुको सहभागीता रहनेछ । प्रतियोगीताका खेलहरु धनगढीको फाप्ला अन्तराष्ट्रिय खेलमैदान र कञ्चनपुरको महेन्द्रनगरस्थित कर्बड हलमा सञ्चालन हुने संयोजक दिनेश सिंहले जानकारी दिए ।

मैदान निर्माणका लागि धेरै समय नपाएपनि १५ १६ दिनमा आफूले सक्दो मिहिनेत गरेर ४ वटा पिच निर्माण,आउट फिल्ड मर्मत र अन्य सजिसजावटको काम पूरा गरेको भेन्यु ईञ्चार्ज बाबुराजा श्रेष्ठले जानकारी दिए ।

प्रतियोगीताको उद्घाटन समारोहमा प्रमुख अतिथिको रुपमा नेपाल क्रिकेट संघ क्यानका अध्यक्ष चतुर बहादुर चन्दको उपस्थिति रहने सुदूरपश्चिम प्रादेशिक क्रिकेट संघका अध्यक्ष बाशुदेव जोशीले बताए । उद्घाटन खेलमा घरेलु टोली सुदूरपश्चिम र लुम्बिनी प्रदेशका बीच प्रतिस्पर्धा हुँदैछ । सुदूरपश्चिम प्रादेशिक क्रिकेट संघका अध्यक्ष बाशुदेव जोशीको अध्यक्षतामा सम्पन्न पत्रकार सम्मेलनमा क्यानका केन्द्रिय सदस्य द्वय धिरेन्द्र सावद र बिक्रम बिष्ट त्यसैगरी सुदूरपश्चिम प्रादेशिक क्रिकेट संघका पूर्व अध्यक्ष हरी रेग्मी लगायत प्रदेश र विभिन्न जिल्लाका पदाधिकारी तथा सदस्यहरुको उपस्थिति रहेको थियो ।