धनगढी, ११ मंसिर । सुर्खेतमा भइरहेको दशौँ राष्ट्रिय खेलकुद प्रतियोगितामा सुदूरपश्चिमको महिला बास्केटबल टोलीले इतिहास रचेको छ । क्वार्टरफाइनलमा लुम्बिनी प्रदेशलाई ३९–१६ स्कोरले हराउँदै सुदूरपश्चिम पहिलो पटक राष्ट्रिय खेलकुद प्रतियोगिताको सेमिफाइनलमा पुगेको छ ।

यसअघि सुदूरपश्चिमको महिला बास्केटबल टोली समूह विजेता बन्दै क्वार्टरफाइनलमा प्रवेश गरेको थियो । पहिलो खेलमा बलियो बागमती प्रदेशलाई ३६–३३ अंकले पराजित गर्दै उत्कृष्ट सुरुवात गरेको सुदूरपश्चिमले दोस्रो खेलमा मधेश प्रदेशलाई ४७–३ को विशाल अन्तरले हराउँदै क्वार्टरफाइनलमा स्थान पक्का गरेको थियो ।

सुदूरपश्चिमको महिला बास्केटबल टोलीले अहिलेसम्म कुनै पनि राष्ट्रिय खेलकुद प्रतियोगितामा पदक जित्न सकेको छैन । पहिलो पटक सुदूरपश्चिम प्रदेशको महिला बास्केटबल टोलीले सुदूरपश्चिमलाई पहिलो पटक जिताउने पक्का भएको छ । महिला बास्केटबल टोलीले इतिहास रच्नुमा खेलाडीहरूको कडा मेहनत र परिश्रमको नतिजा रहेको नेपाल बास्केटबल संघका केन्द्रीय सदस्य तथा सुदूरपश्चिम प्रदेश उपाध्यक्ष लोकन्द्र सिंहले बताए ।