चैत्र ९,धनगढी : धनगढीमा मुख्य कार्यालय रहेको नवजीवन सहकारीले नवजीवन खाद्य उद्योगको स्थापना गरी आज (शनिबार) देखि चामल बिक्रि वितरण सुरु गरेको छ ।कैलालीको गोदावरी नगरपालिका–८ मजगाउँमा उद्योग सञ्चालनमा ल्याएको हो । सहकारी मार्फत उत्पादित सहकारीले चामल बिक्रि वितरण समेत सुरु गरेको छ ।

उद्योगले १६ हजार २८ क्विन्टल धान खरिद गरि १ हजार १ सय ८४ क्विन्टल धान कुटाइ गरिसकेको छ । जसबाट ६ सय २९ क्विन्टल चामल उत्पादन भएको छ । खाद्य उद्योग स्थलमा आज आयोजित पत्रकार सम्मेलनमा बोल्दै संस्थाका अध्यक्ष देवबहादुर बमले मोटो र मसिनो गरि दुई भागमा चामललाई छुट्याइएको जानकारी गराए ।२५ किलोको मोटो चामलको १४ सय र मसिनो चामलको २२ सय दर तोकिएको उनले बताए । धानको मूल्य अनुसार चामलको दर तलमाथि हुनसक्ने उनले बताए । उनका अनुसार पहिलो चरणमा नवजीवन सहकारी संस्थाका १० वटै सेवा केन्द्रहरुबाट बिक्रि वितरण गरिने छ । डेढ विघा जग्गामा निर्माण गरिएको गोदामको ५ हजार टन क्षमता रहेको छ ।

१ करोड ५६ लाखको लागतमा मिल घर, राईस मिल प्लाण्ट जडान गरि संरचना तयार पारेको छ । प्रति घण्टा २ मेट्रिकटन क्षमताको राईस प्लाण्ट रहेको अध्यक्ष वमले बताए । छिटै सहकारी मन्त्रालयसंग समन्वय गरि गाडिको व्यवस्थापन गरिने र चामल होम डेलिभरीको व्यवस्था पनि गरिने वमले बताए । नवजीवनका ३६ हजार शेयर सदस्यसहित आम जनताले शुद्ध र गुणस्तरिय चामल खान पाउन भन्ने उदेश्यले नवजीवनले पहिलो चरणमा चामल उत्पादन सुरु गरेको आगामी दिनमा पिठो र तेल उत्पादनका साथै पानी फ्याक्ट्री सञ्चालनको योजना अघि बढाएको उनले बताए ।

यस क्षेत्रलाई नवजीवन औद्योगिक ग्रामका रुपमा विकास गरिने भन्दै वमले शेयर सदस्यहरुलाई कृषिमा आकर्षित गर्नुका साथै प्रत्यक्ष तथा अप्रत्यक्ष रोजगारी सिर्जना गर्नु नवजीवनको भावी योजना रहेको उनले बताए । रानी जमरा सिँचाई आयोजना सुरु भएमा त्यहाँका किसानलाई बिउ वितरणको योजना पनि अघि बढाइने उनको भनाई छ । २०५० सालमा स्थापना भएको नवजीवन सहकारी संस्था हाल सुदूरपश्चिम तथा लुम्बिनी प्रदेशमा १० शाखासहित सञ्चालनमा छ । ३६ हजार ८१ जना शेयर सदस्य रहेको यस सहकारीमा ३१ करोड ३४ लाख शेयर पूँजी रहेको छ । ५ अर्ब ७३ लाख ६४ हजार निक्षेप संकलन गरि ४ अर्ब १६ करोड १४ लाख रुपैयाँ रुपैयाँ कर्जा प्रवाह गरेको छ ।
यसअघि धान खरिद केन्द्रका रूपमा रहेको स्थानमा नवजीवन ब्रान्डका रूपमा चामल उत्पादन गर्ने उद्देश्यले मिल सञ्चालनमा ल्याइएको हो । वि सं २०४९ सालमा १७ जनाले एक हजार जम्मा गर्ने गरी सामुदायिक बचत कोषका रुपमा थालनी गरिएको सहकारी २०५० सालमा सहकारी विभागमा दर्ता भएको हो । नवजीवन सहकारीले लघुवित्त कार्यक्रम सञ्चालन गर्दै आएको छ ।

जसमा ६१ समुहहरुमा ८ सय ४४ महिलाहरु आवद्ध रहेका छन् । यस सहकारी शेयर सदस्यहितकोषबाट संस्थाका सदस्यहरुलाई सुत्केरी, स्याहार खर्च सुविधा, औषध उपचार सुविधा र किरिया खर्च उपलब्ध गराउने गरेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?