कञ्चनपुरका स्थानीय सरकारहरु छाउगोठ भत्काउदै

१४श्रावण,२०८२ः कञ्चनपुरका स्थानीय सरकारहरु छाउगोठ भत्काउन लागिपरेका छन्। पक्की घर भए पनि कुरीति अन्धविश्वासका कारण गत असार अन्तिम साता छाउ बार्न छाउगोठमा बसेकी कृष्णपुर–१, निगालीकी २८ वर्षीया कमला आउजी (दमाईं) को निधन भएपछि स्थानीय सरकार छाउगोठ भत्काउन अघि सरेका हुन्।

असार २८ गते कमलाले ज्यान गुमाएकै गोठ उतिबेलै भत्काएदेखि अहिले पनि कृष्णपुरमा निरन्तर गोठ भत्काउने क्रम जारी छ।
जिल्लाका दुई पालिकाले छाउगोठ भत्काउने अभियान निरन्तर जारी राखेका हुन्। कृष्णपुर नगरपालिका– १ का वडाध्यक्ष मोहन बस्नेतले पालिकासहितको टोलीले हालसम्म १७ छाउगोठ भत्काएको बताए। बेदकोट नगरपालिकाले पनि गोठ भत्काउन सुरु गरेको छ। बेदकोट नगरपालिका– १० का वडाध्यक्ष रतनसिंह विष्टले एकैदिन २० गोठ भत्काएको जानकारी दिए। कृष्णपुरका मेयर हेमराज ओझाले छाउगोठ भत्काउने कार्य निरन्तर चलिरहेको बताए। यता बेदकोट नगरका मेयर भोजराज बोहराले छाउगोठ भत्काउन वडा समितिलाई निर्देशन दिएको बताए। गोठ भत्काउनेसँगै सचेतना कार्यक्रम सञ्चालन गरिने उनको भनाइ छ।

३० साउन ०८२ मा जिल्ला प्रशासन कार्यालय कञ्चनपुरले छाउगोठ भत्काउन ९ वटै पालिकालाई निर्देशन दिएको थियो। कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी लक्ष्मण ढकालले दुई पालिका बेदकोट र कृष्णपुरले गोठ भत्काउन सुरु गरेको र अन्य पालिकाले पनि भत्काउनुपर्नेमा जोड दिए। प्रमुख जिल्ला अधिकारी ढकालले गोठसँगै वर्षौंदेखि मानिसको मानसिकतामा जकल्टिएको रुढीवादी सोच हटाउनुपर्ने सुझाव दिदै सरकारी निकायदेखि सरोकारवालाले सामाजिक सचेतना बढाउनुपर्ने बताए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

Leave a Comment

Your email address will not be published. Required fields are marked *

Scroll to Top