मंसिर २६,धनगढी : नेपाल प्रिमियर लिग ( एनपीएल )मा सुदूरपश्चिम रोयल्सविरुद्ध लज्जास्पद हारसँगै जनकपुर बोल्ट्सको अपराजित यात्रामा पूर्णविराम लागेको छ । जनकपुर आफ्नो पाँचौँ खेलमा सुदूरपश्चिम रोयल्सविरुद्ध ७२ रनले पराजित भएको हो । हाजको हारसँगै जनकपुर बोल्ट्स अंक तालिकाको दोश्रो स्थानमा झरेको छ भने सुदूरपश्चिम रोयल्स आजको उत्कृष्ट जीतसँगै अंकतालिकाकाु शीर्षस्थानमा उक्लिएको छ ।
बुधबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा सम्पन्न खेलमा ब्याटिङ ‘कोल्याप्स’ हुँदा सुदूरपश्चिमले दिएको १२४ रनको लक्ष्य पछ्याउने क्रममा जनकपुर १२।१ ओभरमा ५१ रनमै समेटियो । योसँगै प्रतियोगितामा जनकपुरले सबैभन्दा कम योगफलमा समेटिने टिमको खराब कीर्तिमानसमेत बनाएको छ । यसअघि यो कीर्तिमान पोखरा एभेन्जर्सको नाममा थियो । प्रतियोगिताको पाँचौँ खेलमा चितवन राइनोजले पोखरालाई ७४ रनमै समेटेको थियो ।
सुदूरपश्चिमविरुद्ध जनकपुरका कुनै पनि ब्याटर खुलेर खेल्न सकेनन् । जनकपुरको खातामा जोसुवा ट्रोम्पले सबैभन्दा धेरै १३ रन बनाए । यसबाहेक, जनकपुरका अन्य ब्याटरले दोहोरो अंकमा रन जोड्न सकेनन् ।जनकपुरका स्कोरबोर्डमा १७ रन जोड्दा दुवै ओपनरलाई गुमाएको थियो । जनकपुरका कप्तानसमेत रहेका अनिल साह सात बल खेल्दा रन नबनाइ पभेलियन फर्किए । अर्का ओपनर आसिफ सेखले पनि चार रनमात्रै थप्न सके । ललित राजवंशीले चार रन जोड्दा किशोर महतो शून्यमा अविजित रहे ।यसपछिका चार विकेट जनकपुरले ३७ रन जोड्दा गुमायो । जनकपुरका लहिरु मिलान्था सात, हर्ष थाकेर पाँच, जिम्मी निसम चार र सुभ कंशाकार शून्यमा पभेलियन फर्किए । यस्तै, अर्निको यादवले पनि टिमको स्कोर बोर्डमा एक रनमात्र थप्न सके । आठौं ब्याटरको रुपमा पभेलियन फर्किएका शेर मल्ल पनि ‘डक’ भए ।जनकपुरलाई सस्तैमा समेट्न सुदूरपश्चिमका हर्मित सिंह, कप्तान दीपेन्द्रसिंह ऐरी र इशान पाण्डेले समान दुई विकेट लिए । चार ओभर बलिङ गरेका हर्मितले दुई मेडन फ्याक्दै दुई रनमात्र खर्चिए । उनले जनकपुरका अर्निको यादव र जोसुवा ट्रोम्पलाई पभेलियनको दिशा देखाएका थिए । सैब जैब, नरेन साउद र स्कट कुग्गेलेनको नाममा समान एक विकेट रह्यो ।
त्यसअघि टस हारेर ब्याटिङमा आएको सुदूरपश्चिमले निर्धारित २० ओभरमा नौ विकेट गुमाएर १२३ रनको योगफल खडा गरेको थियो ।सुदूरपश्चिमका ओपनर विनोद भण्डारीले सर्वाधिक ३३ रन बनाए । ३७ बल खेलेका विनोदले तीन चौका र एक छक्का प्रहार गरे । यस्तै, अर्का ओपनर सैब जैबले २१ बलमा दुई छक्कासहित २१ रन बनाए ।यी दुईले पहिलो विकेटका निम्ति ७।४ ओभरमा ५५ रनको साझेदारी गर्दै सुदूरपश्चिमलाई उत्कृष्ट सुरुआत गरेका थिए ।सुदूरपश्चिमका इशान पाण्डेले १४ बलमा एक चौका र एक छक्कासहित १७ रन जोडे । ब्रान्डन म्याकमुलमले १७ बलमा ११ रन थपे । यसबाहेक, सुदूरपश्चिमका अन्य ब्याटर दोहोरो अंकसम्म पुग्न सकेनन् । अविजित रहेका नरेश बुढाएरले नौ र अभिनाश बोहराले दुई रन बनाए ।
सुदूरपश्चिमलाई मध्यम योगफलमा रोक्न मधेसका किशोर महतोले चार विकेट लिए । चार ओभर बलिङ गरेका किशोरले ३५ रन खर्चिए । किशोरले सुदूरपश्चिमका आरिफ सेख, इशान पाण्डे, स्कट कुग्गेलेन र नरेन साउदको विकेट लिए ।शेर मल्ल र अर्निको यादवले समान दुई विकेट लिए । शेरले हर्मित सिंह र विनोद भण्डारी तथा अर्निकोले दीपेन्द्रसिंह ऐरी र ब्रान्डन म्याकमुलमको विकेट लिए । हर्ष थाकेरको नाममा एक विकेट रह्यो । हर्षले सुदूरपश्चिमका सैब जैबलाई पभेलियनको दिशा देखाए ।
प्रतियोगितामा सुदूरपश्चिमको यो चौथो जित हो । सुदूरपश्चिमले आफ्नो पहिलो खेलमा विराटनगर किंग्सविरुद्ध ९० रनको जित निकालेको थियो । दोस्रो खेलमा काठमाडौं गुर्खाजविरुद्ध ७३ रनको जित, खेलमा लुम्बिनी लायन्सविरुद्ध ४५ रनको जित दर्ता गरेको थियो । चौथो खेलमा भने सुदूरपश्चिमले चितवन राइनोजविरुद्ध ३३ रनको हार व्यहोरेको थियो ।
जनकपुरको भने यो पहिलो हार हो । प्रतियोगिताको उद्घाटन खेलमै विराटनगर किंग्सिवरुद्ध आठ विकेटको जित निकालेको जनकपुरले दोस्रो खेलमा कर्णाली याक्सविरुद्ध पनि आठ विकेटकै जित निकालेको थियो । तेस्रो खेलमा जनकपुरले पोखरा एभेन्जर्सविरुद्ध सात विकेटको र चौथो खेलमा लुम्बिनी लायन्सविरुद्ध एक रनको जित निकालेको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?