पौष ३,धनगढी : नेपाल प्रिमियर लिगको पहिलो क्वालिफायर खेलमा जनकपुर बोल्टसलाई ८ विकेटले पराजित गर्दै सुदूरपश्चिम रोयल्स पहिलो संस्करणको एनपिएलको फाइनलमा प्रवेश गरेको छ ।अब सुदूरपश्चिम रोयल्सले फाइनलमा पौष ६ गते दोश्रो क्वालिफायरबाट विजेता भएर आउने टोली कर्णाली याक्स र जनकपुर बोल्टस बीचको विजेतासँग खेल्नेछ । यसअघि आजै भएको इलिमिनेटरमा चितवन राइनोजविरुद्ध २१ रनको जित निकाल्दै कर्णालीले दोस्रो क्वालिफायरमा स्थान बनाएको थियो । प्रतियोगिताको दोस्रो क्वालिफायर बिहीबार दिउँसो १२ः१५ बजेदेखि सुरु हुनेछ ।

जनकपुर बोल्टसले दिएको १४० रनको लक्ष्य सुदूरपश्चिम रोयल्सले १८.३ ओभरमा मात्र २ विकेट गुमाएर १४१ रन बनाउँदै ९ बल अगाडी नै पूरा गर्यो । सुदूरपश्चिम रोयल्सका लागि विकेटकिपर ओपनर ब्याटर विनोद भण्डारीले शानदार अर्धशतक प्रहार गरे । ५५ बल सामना गरेका भण्डारीले ३ छक्का र ३ चौकाको मद्दतले अविजित ५८ रन बनाए ।उनले म्यान अफ दी म्याच हुँदै ५० हजार नगद जिते । त्यस्तै ओपनर शैफ जैबले ३२ तथा ब्रेडन म्याक्लेमनले २५ रनको योगदान गरे । सुदूरपश्चिम रोयल्सका कप्तान दिपेन्द्र सिंह ऐरी २० रनमा अविजित रहे । जनकपुर बोल्टसका लागि ललित नारायण राजवंशी र किशोर महतोले समान एक एक विकेट लिए ।

त्यसअघि टस जितेर पहिला ब्याटिङमा उत्रिएको जनकपुर बोल्टसले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १३९ रन बनाएको थियो । जनकपुर बोल्टसका लागि विदेशी खेलाडी जिमी निसमले सर्वाधिक ४५ रनको पारी खेले । त्यस्तै शुभ कंसकारले २६ ,लहिरु मिलन्था र हर्ष ठाकरे समान १२ १२ रन बनाए । सुदूरपश्चिम रोयल्सका लागि कप्तान दिपेन्द्र सिंह ऐरीले ३ विकेट चट्काए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?