You are currently viewing NPL-2 : सुदूरपश्चिम रोयल्स र एसपीए कलेजबीच थप दुई सिजनका लागि साझेदारी

NPL-2 : सुदूरपश्चिम रोयल्स र एसपीए कलेजबीच थप दुई सिजनका लागि साझेदारी

नेपाल प्रिमियर लिग (एनपीएल) सिजन २ का लागि सुदूरपश्चिम रोयल्सले धनगढीस्थित प्रतिष्ठित शैक्षिक संस्था एसपीए कलेजसँगको साझेदारीलाई निरन्तरता दिने घोषणा गरेको छ। अब यो साझेदारी थप दुई सिजनसम्म कायम रहने भएको छ।

एसपीए कलेज, जुन सुदूरपश्चिमाञ्चल एकेडेमी अन्तर्गत सञ्चालित छ, शिक्षा र खेलकुदको समन्वय गर्दै पहिलो सिजनदेखि नै टिमसँग सहकार्य गर्दै आएको छ। सुदूरपश्चिम रोयल्स र एसपीएबीचको सहकार्यलाई यस क्षेत्रको युवा क्षमता विकासमा सहायक मानिन्छ।एसपीए कलेजका प्रबन्ध निर्देशक तथा फाप्ला अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला तथा खेलग्राम पूर्वाधार विकास समितिका अध्यक्ष सुभाष शाहीले साझेदारीबारे प्रतिक्रिया दिँदै भने,“खेलकुदले युवालाई प्रेरित गर्ने ठूलो शक्ति राख्छ। सुदूरपश्चिम रोयल्ससँगको सहकार्यले हामीलाई कक्षाकोठा बाहिर पनि विद्यार्थीको विकासमा साथ दिन सक्ने अवसर दिएको छ।”

हालै एसपीए कलेजले मलेसियामा सम्पन्न एसीसी यु–१६ इस्ट जोन कपमा नेपालको जीतमा योगदान पुर्‍याएका सुदूरपश्चिमका दुई युवा खेलाडी—सचिन भट्ट र सुशील रावललाई जनही २५ हजार रुपैयाँ नगद पुरस्कार प्रदान गरेको थियो। विशेषतः सुशील रावल सुदूरपश्चिम रोयल्सले पहिलो सिजनमा आयोजना गरेको ट्यालेन्ट हन्टमार्फत चयन भएका थिए।

सुदूरपश्चिम रोयल्सका प्रमुख कार्यकारी अधिकृत प्रकाश खड्काले यो साझेदारीलाई ‘दीर्घकालीन प्रतिबद्धता’को संकेत मान्दै भने, “फ्रेन्चाइजको रूपमा हामी फाप्ला रंगशालाको द्रुत विकास र शाहीज्यूको नेतृत्वमा अगाडि बढेका प्रयासहरूलाई गर्वका साथ समर्थन गर्दै आएका छौं।”उनले आगामी दिनमा पनि यो सहकार्य निरन्तर रहने र शाहीको पहलमा आयोजना हुने सम्भावित फ्रेन्चाइज लिगहरूमा समेत सुदूरपश्चिम रोयल्सको सहभागिता रहने संकेत दिएका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

Leave a Reply