बिरेन बमले ५ विकेट लिएसँगै आँगन केक्स एन्ड डेरीले नवौं एसपिए लिटिल फ्लावर प्राइड लिगमा विजयी सुरुवात गरेको छ। आइतबार सम्पन्न खेलमा आँगनले आयोजक लिटिल फ्लावर स्पोर्ट्सलाई ७ विकेटले पराजित गरेको हो। जितसँगै आँगनले समूह ‘डी’ मा २ अंक जोडेको छ।

लिटिल फ्लावरले दिएको ४८ रनको सामान्य लक्ष्य पछ्याएको आँगनले ५.३ ओभरमा ३ विकेट गुमाउँदै ५० रन बनायो।आगनका ओपनर सुमित बुडालले सर्वाधिक २४ रन बनाए। अविजित रहेका उनले ११ बलमा १ चौका र ३ छक्का प्रहार गरे। बसन्त भट्ट १७ रनमा आउट हुँदा विशाल ऐर २ रनमा अविजित रहे। लिटिल फ्लावरका विराज विष्टले २ र अनिल रावतले १ विकेट लिए।
त्यसअघि फाफ्ला क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङ थालेको लिटिल फ्लावरले ९.३ ओभरमा सबै विकेट गुमाउँदै ४७ रन बनाएको थियो। लिटिल फ्लावरका दिलबहादुर बोहराबाहेक अन्यले दोहोरो अंकमा रन बटुल्न सकेनन्। १४ बल खेलेका उनले १ चौका र २ छक्कासहित २२ रन बनाए।आँगनका बिरेनले सर्वाधिक ५ विकेट लिए। ३ ओभर बलिङ गरेका उनले ६ रन खर्चिए। किरण चन्द र राहुल भण्डारीको नाममा समान २ विकेट रहँदा निरञ्जन गौतमले १ विकेट राखे।
त्यसअघि एक औपचारिक कार्यक्रमका बीच नेपाल क्रिकेट संघ क्यानका केन्द्रिय सदस्य तथा कैलाली अध्यक्ष विक्रम विष्टले प्रतियोगीताको समुद्घाटन गरेका थिए । अध्यक्ष विष्टले सुदूरपपिश्चमको ग्रसरुट क्रिकेट विकासमा लिटल फ्लावर प्राइड लिगको महत्वपूर्ण भूमिका रहेको भन्दै त्यसका लागि रामचन्द्र शाही सँधै धन्यवादको पात्र रहेको बताए । उनले आफूले सुरुवातदेखि नै प्रतियोगीता नजिकबाट नियालीरहेको भन्दै यसको प्रत्यक्ष फाइदा यसक्षेत्रका सयौं खेलाडीलाई भएको पनि बताए ।

उद्घाटन सत्रमा खेलप्रेमी तेज पुरुषले रामचन्द्र शाहीले क्रिकेट अभियान सुरु नगरेको भए यसक्षेत्रका दर्जनौ खेलाडीको पहिचान नहुने बताएका छन । उनले एउटा व्यक्ति सबथोक त्यागेर क्रिकेटमा लागेको भन्दै सबैले उहाँको अभियानमा साथ सहयोग गर्नुपर्ने बताएका छन ।

लिटल फ्लावर स्पोटर्स एण्ड इभेण्टसका अध्यक्ष तथा क्रिकेट अभियन्ता रामचन्द्र शाहीले आफू निस्वास्र्थ तरिकाले पवित्र उद्येश्यका साथ क्रिकेटको यात्रामा जोडिएको भन्दै यसको आगामी यात्रा पनि उक्तिकै उत्कृष्ट तवरले होस भन्ने चाहाना रहेको बताए । उनले किक्रेटमा जोडिएर आफ्नो अवस्था कस्तो भयो भन्दा पनि लिटल फ्लावर प्राइड लिग मार्फत हाम्रा भाइहरुले अवसर कति पाए भन्ने कुरा महत्वपूर्ण रहेको भन्दै आफू सन्तुष्ट रहेको बताएका छन ।
लिटिल फ्लावर स्पोर्ट्स एन्ड इभेन्ट्स प्रालिको आयोजनामा सञ्चालन भइरहेको प्रतियोगितामा विभिन्न क्लब, कलेज तथा एकेडेमी गरी १३ टोलीको सहभागिता रहेको छ।सहभागी टोलीलाई चार समूहमा विभाजन गरिएको छ। समूह ‘ए’ मा राजपुर स्पोर्ट्स क्लब, निस्ट कलेज र टिम बगाइचा रहेका छन्। समूह ‘बी’ मा युथ अफ टिकापुर, मधेश इलाइट र धनगढी रोयल्स समावेश छन्।
समूह ‘सी’ मा घोडाघोडी क्रिकेट एकेडेमी, एसपीए कलेज र खप्तड इन्डोर छन् भने समूह ‘डी’ मा आगन केक्स एन्ड डेरी, लिटिल फ्लावर स्पोर्ट्स, सत्यवती एकेडेमी र सुदूरपश्चिम ब्वाइज होस्टेल रहेका छन्।प्रतियोगिताको विजेता टोलीले ६० हजार रुपैयाँ नगद पुरस्कार प्राप्त गर्नेछ भने उपविजेता टोलीले ३० हजार रुपैयाँ नगद पुरस्कार हात पार्नेछ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?