धनगढी उपमहानगरपालिका–१२ जुगेडामा निर्सग सातौं प्रदेश क्लबस्तरीय पुरुष तथा भेट्रान फुटबल प्रतियोगितामा संघर्ष स्पोटर्स क्लब विजयी भएको छ । मनकामना युवा क्लबको खेलमैदानमा सोमबार सम्पन्न खेलमा सुदूरपश्चिम प्रदेश प्रहरीको टोलीलाई २ – ० गोल अन्तरले पराजित गर्दै प्रतियोगीतामा सुखद सुरुवात गरेको छ ।

संघर्ष स्पोटर्स क्लबको जितमा ओम प्रकाश बोहरा नायक बने । पहिलो हाफको ७औं मिनेटमै गोल गर्दै टिमलाई अग्रता दिलाएका बोहराले दोश्रो हाफको ६७औं मिनेटमा थप गोल गर्दै टिमको जित सुनिश्चित गरे ।

बोहरा खेलको म्यान अफ दी म्याच पनि चुनिए । सुदूरपश्चिम प्रदेश प्रहरीको टोलीले गोलको केहि मौका सिर्जना गरेपनि गोलमा परिणत गर्न भने सकेन ।
मनकामना युवा क्लबको आयोजनामा सनिबारबाट सुरु भएको प्रतियोगिता माघ १० गते समापन हुनेछ । धनगढी–१२ वडा कार्यालयको व्यवस्थापन तथा निर्सग अस्पतालको मुख्य प्रायोजनामा सञ्चालन भइरहेको प्रतियोगितामा पुरुष फुटबलतर्फ ७ टिम र भेट्रानतर्फ ४ टिमको सहभागिता रहेको छ।

प्रतियोगितामा पुरुषतर्फको विजेताले रु १ लाख ३५ हजार र उपविजेताले रु ७० हजार नगदसहित मेडल, ट्रफी र प्रमाणपत्र प्राप्त गर्नेछन्। त्यस्तै, भेट्रानतर्फ विजेता टिमलाई रु ५० हजार र उपविजेतालाई रु २५ हजार नगदसहित मेडल, ट्रफी र प्रमाणपत्र प्रदान गरिने मनकामना युवा क्लब जुगेडाका अध्यक्ष कृष्ण पाण्डेले जानकारी दिएका छन ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?