कञ्चनपुर कारागारका १८ भारतीय कैदी सम्पर्क विहीन

३असोज,धनगढीः कञ्चनपुर कारागारका १८ भारतीय कैदी सम्पर्क विहीन भएका छन्। जिल्ला कारागारबाट फरार भएकामध्ये अन्य कैदीबन्दी फर्किएकामा उनीहरू सम्पर्कमा नआएका हुन। आन्दोलनकारीले कारागारको ताला तोडेर कैदीलाई बाहिर निकालेपछि फरार रहेकामध्ये २७५ कैदी आफैँ कारागारमा फिर्ता भएका छन् भने २४ कैदीबन्दीलाई प्रहरीले पक्राउ गरेर ल्याएको कारागार प्रशासनले जनाएको छ।

कञ्चनपुर कारागारका निमित्त जेलर रामदत्त जोशीका अनुसार २७५ कैदीबन्दी इमानदारीतापूर्वक कारागारमा आफैँ फिर्ता भएका छन्। २४ जना कैदीलाई प्रहरीको टोलीले जिल्लाका विभिन्न क्षेत्रबाट पक्राउ गरेर ल्याएको निमित्त जेलर जोशीले बताए। कञ्चनपुर कारागारमा गत मङ्गलवारसम्म ४७९ कैदीबन्दी रहेका थिए। जसमध्ये बुधवारसम्म पाँच कैदी कैद भुक्तान गरेर घर फर्किएका छन्। आन्दोलनका कारण कारागारबाट निस्केका पाँच कैदी कारागार फर्किएर कैद भुक्तान गरेर घर गएका निमित्त जेलर जोशीले बताए।


कारागारबाट निस्किएका भारतीय कैदी भने सम्पर्कबाहिर रहेको कारागार प्रशासनले जनाएको छ। कारागारको सम्पर्कमा रहेका १० भारतीय कैदीबन्दी कारागार फिर्ता भएका छन् भने १८ भारतीय कैदीबन्दी अझै फरार रहेको निमित्त जेलर जोशीले बताए। यसै गरी कञ्चनपुर कारागारमा २६ महिला कैदीबन्दी रहेकोमा १४ जना फर्किएका छन् भने १२ महिला कैदीबन्दी अझै फरार रहेको कारागार प्रशासनले जनाएको छ। कञ्चनपुर कारागारमा कैद भुक्तान गरिरहेका १९३ जना कैदीबन्दी अझै फरार रहेको कारागार कार्यालयले जनाएको छ। फरार रहेका कैदीबन्दीलाई फिर्ता ल्याउन प्रयास गरिरहेको निमित्त जेलर जोशीले बताए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

Leave a Comment

Your email address will not be published. Required fields are marked *

Scroll to Top