You are currently viewing कृष्णपुर नगरपालिकाको सेवा आंशिक रूपमा सुचारु

कृष्णपुर नगरपालिकाको सेवा आंशिक रूपमा सुचारु

५असोज,धनगढीः कञ्चनपुरको कृष्णपुर नगरपालिकामा जेन–जी आन्दोलनका क्रममा भएको आगजनी र तोडफोडबाट गम्भीर क्षति पुगेपछि रोकिएको सेवा आंशिक रूपमा पुनः सुचारु भएको छ। हाल नगरपालिकाको केही शाखा मात्रै अस्थायी रूपमा सञ्चालनमा आएका छन् भने सबै सेवा सञ्चालनमा ल्याउन अझै केही दिन लाग्ने नगरप्रमुख हेमराज ओझाले जानकारी दिएका छन्।
नगर कार्यालय भवनमा क्षति पुगेपछि सुरक्षित रहेका कागजातका आधारमा सेवा सुरु गरिएको हो। स्थानीय युवा क्लब र कर्मचारीको सहयोगमा सरसफाइ गरी खाजाघर, हल र केही सुरक्षित कोठाहरू प्रयोगमा ल्याइएको छ। भवनमा ठाउँ अपुग भएकाले वनदेवी आधारभूत विद्यालयका खाली कोठामा केही शाखा सार्ने तयारी भइरहेको ओझाले बताए।


“हामीसँग आवश्यक उपकरण र सामग्रीको अभाव छ, जुन अहिलेको सबैभन्दा ठूलो चुनौती हो,“ उनले भने, “तर पनि प्राप्त थोरै जिन्सी सामग्रीकै भरमा सेवा सुचारु गर्न थालिएको छ। केही दिनमै सबै शाखा सञ्चालनमा ल्याउने तयारीमा छौँ।“
आगलागीबाट कार्यालयको स्टेशनरी, कम्प्युटर, प्रिन्टर, फोटोकपी मेसिन, सिसी क्यामेरा, मोटरसाइकल, स्कुटर, दराज, नक्सा, स्वास्थ्य सामग्री, फ्रिज, एसी, फर्निचरलगायतका सामग्रीसहित अधिकांश कागजात पूर्ण रूपमा नष्ट भएका छन्।
नगर प्रमुख प्रशासकीय अधिकृत खगेन्द्र भट्टका अनुसार प्रारम्भिक विवरणअनुसार आगलागीबाट दुई करोड रुपैयाँभन्दा बढीको क्षति भएको छ। भवनको भौतिक क्षतिबारे प्राविधिक विवरण तयार गर्ने कार्य भइरहेको छ भने वडा कार्यालयहरूको क्षति विवरण पनि संकलनको क्रममा छ।


यसैबीच, सामुदायिक वन, सहकारी संस्था र वित्तीय संस्थाहरूले सहयोगस्वरूप प्रिन्टर, कम्प्युटर र प्लास्टिकका कुर्सी नगरपालिकालाई प्रदान गरेका छन्। नगरपालिकाले नगद होइन, जिन्सी सहयोग मात्रै स्वीकार गर्ने नीति लिएको छ।
आगलागी र तोडफोडमा संलग्नहरूलाई कारबाही गर्नेबारे सर्वदलीय, सर्वपक्षीय तथा कार्यपालिकाको छुट्टाछुट्टै रूपमा बसेका बैठकहरूले कारबाही प्रक्रिया अगाडि बढाउने निर्णय गरेका छन्। हालसम्म लुटपाटमा परेका सामग्रीमध्ये एक थान कम्प्युटर मोनिटर र एक थान क्यामेरा मात्रै फिर्ता भएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

Leave a Reply