You are currently viewing कैलाली कारागार तत्काल सुधार गरीने

कैलाली कारागार तत्काल सुधार गरीने

२७ श्रावण,२०८२ः क्षमताभन्दा पाँच गुणा बढी कैदीबन्दी रहेको कैलाली कारागारलाई प्रदेश सरकारले तत्काल सुधार गर्ने भएको छ । कारागारभित्र कैदीबिच हिंसात्मक झडपपछि आइतबार राति मुख्यमन्त्री कमलबहादुर शाहको अध्यक्षतामा बसेको प्रदेश सुरक्षा समितिको बैठकले कारागारलाई तत्काल प्रदेश सरकारले सुधार गर्ने निर्णय गरेको हो । आन्तरिक मामिला तथा कानुन मन्त्रालयले कारागारभित्र हेलोजन लाइट, सिसी क्यामरा जडान, कारागारको छानालगायतका आवश्यक मर्मत तत्काल सुरु गर्ने बैठकले निर्णय गरेको छ ।
समितिको बैठकले कारागारको सुरक्षार्थ खटिने सुरक्षाकर्मीलाई तीन÷तीन महिनामा अदलीबदली गर्ने व्यवस्था मिलाउने निर्णय गरेको समितिका सदस्यसचिव एवं आन्तरिक मामिला तथा कानुन मन्त्रालयका सदस्यसचिव आमोद दाहालले जानकारी दिए । यस्तै कारागार प्रशासन र आन्तरिक मामिला तथा कानुन मन्त्रालयको समन्वयमा कारागार सुरक्षाका लागि कारागार ऐनमा आवश्यक सुधारका लागि सङ्घीय सरकारलाई अनुरोध गर्ने निर्णय समितिले गरेको छ ।


कैलाली कारागारभित्र रहेको कैदीको सङ्ख्या कारागारको क्षमताभन्दा पाँच गुणा बढी देखिएका कारण उत्पन्न सुरक्षा चुनौती न्यूनीकरण गर्न कारागारको क्षमता अनुसार कैदीबन्दी व्यवस्थापनका लागि कारागार विभागसँग समन्वय गर्ने बैठकमा निर्णय गरिएको छ । १७५ जना क्षमताको कैलाली कारागारमा ६९९ कैदी राखिएको छ । कारागारभित्र जाने खाद्यान्न, तरकारी तथा अन्य वस्तुको निगरानी र जाँच बढाउन कारागार प्रशासन र सुरक्षाकर्मीलाई प्रमुख जिल्ला अधिकारीमार्फत निर्देशन दिने निर्णय समितिले गरेको छ । कैलाली कारागारमा रहेका कैदीबन्दीको सङ्ख्याभन्दा हालको कारागारको क्षमता निकै कम रहेका कारण सुरक्षा चुनौती उच्च देखिएको समितिको ठहर छ । यो कारागारको क्षमता अभिवृद्धि गर्न र सुविधासम्पन्न कारागारको पूर्वाधार तथा खुला कारागारको अवधारणा कार्यान्वयन गर्न सङ्घीय सरकारसमक्ष अनुरोध गर्ने निर्णय सुरक्षा समितिको बैठकले गरेको छ ।
आन्तरिक मामिला तथा कानुन मन्त्रालय र कारागार प्रशासनबिच समन्वय गरी कारागारभित्र कैदीबन्दीलाई मनोवैज्ञानिक परामर्श, सकारात्मक सोच विकास गर्ने खालका कार्यव्रmम सघन रूपमा सञ्चालन गर्ने निर्णय गरिएको छ । कैदीबन्दीका लागि पुस्तक पनि उपलब्ध गराउने समितिको बैठकले निर्णय गरेको छ । कैलाली कारागारमा कैदीबिचको हिंसात्मक झडपमा परी ज्यान गुमाएका भरत चौधरीको परिवारलाई प्रदेश सरकारले पाँच लाख रुपियाँ सहयोग गर्ने भएको छ । प्रदेश सुरक्षा समितिको बैठकले राहतस्वरूप चौधरीको परिवारलाई प्रदेश सरकारले सहयोग गर्ने निर्णय गरेको हो । शुक्रबार राति कारागारभित्र कैदीबिच हिंसात्मक झडप हुँदा घाइते धनगढी उपमहानगरपालिका–४ का ४० वर्षीय चौधरीको उपचारका क्रममा ज्यान गएको थियो । उक्त घटनामा ४७ जना कैदी घाइते भए । घाइते कैदीको सरकारी खर्चमा उपचार गर्ने व्यवस्था मिलाउने निर्णय बैठकले गरेको छ । घाइते कैदीको धनगढी र काठमाडौँमा उपचार भइरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

Leave a Reply