असार ८,एजेन्सी – क्यानडा अर्को वर्ष हुने आइसिसी पुरुष टि ट्वान्टी विश्वकपको लागि छनोट भएको छ । अमेरिका छनोटमा बहामासविरुद्ध जित हासिल गर्दै क्यानडाले विश्वकप यात्रा पक्का गरेको हो । कलिम साना र शिवम शर्माले समान ३ विकेट लिएपछि बहामासलाई केवल ५७ रनमा अलआउट गर्यो । ५८ रनको लक्ष्य क्यानडाले केबल ५।३ ओभरमा पूरा गर्यो । क्यानडाका लागि दिलप्रीत बाजवा १४ बलमा अविजित ३६ रन बनाउँदै छनोट निश्चित गर्यो ।
विश्वकप अमेरिका क्षेत्रीय छनोटमा निकोलस किर्टनको नेतृत्वमा रहेको क्यानडाले बर्मुडा, केम्यान आइल्याण्ड तथा बहमासमाथि सहज जित निकाल्यो ।अमेरिका क्षेत्रबाट एक टोली छनोट हुनेमा अमेरिकाले अघिल्लो विश्वकपको सुपर ८ मा रहदै स्वतः छनोट भइसकेको छ ।अमेरिकाले विश्वकपमा स्थान बनाइसकेको हुँदा क्यानडालाई छनोट हुन सहज भएको थियो । क्यानडाले २० टोली सहभागी रहने विश्वकपमा अन्य १२ टोलीसँगै स्थान बनाएको छ ।
प्रतियोगितामा यसअघि नै सह आयोजक भारत र श्रीलंकासँगै अफगानिस्तान, अष्ट्रेलिया, बंगलादेश, इङ्गल्याण्ड, दक्षिण अफ्रिका, अमेरिका, वेस्ट इन्डिज, आयरल्याण्ड, न्यूजिल्याण्ड र पाकिस्तानले स्थान पक्का गरिसकेका छन् ।विश्वकप खेल्ने थप सात टोलीहरू भने विभिन्न क्षेत्रीय छनोटबाट आउने छन् । युरोप छनोटबाट २, अफ्रिका छनोटबाट २ र एसिया छनोटबाट ३ टोलीले विश्वकपमा स्थान बनाउँने छन् ।