You are currently viewing गुञ्जिन थाले सुदूरपश्चिमका थारू बस्तीहरू सखिया नाचको रौनकले

गुञ्जिन थाले सुदूरपश्चिमका थारू बस्तीहरू सखिया नाचको रौनकले

३१भाद्र,धनगढीः दसैँ नजिकिएसँगै सुदूरपश्चिमका थारू बस्तीहरू सखिया नाचको रौनकले गुञ्जिन थालेका छन् । परम्परागत रूपमा दसैँ–तिहारको बेला महिलाले सामूहिक रूपमा प्रस्तुत गर्ने यो मौलिक नृत्य अहिले थारू गाउँमा विशेष आकर्षण बनेको छ ।
गोदावरी नगरपालिका–८, फकलपुरका माधव चौधरीका अनुसार साँझपख महिलाहरू एकनासको थारू वेशभूषामा सजिएर मादल र मिजुराको तालमा नाच्न थालेपछि गाउँभरिकै माहोल चाडपर्वमय बनेको छ ।


सखिया नाचमा महिलाले गोलबद्ध भएर तालमेलसहित नाच्ने गर्छन् । ‘मदरिया’ ले बजाउने मादलको ताल अनुसार उनीहरूले विभिन्न शैलीमा प्रस्तुत गर्ने यो नाचलाई सामूहिक मैत्रीको प्रतीक मानिन्छ । थारू महिलाले साथीलाई ‘सखी’ भन्ने भएकाले यो नृत्यलाई ‘सखिया नाच’ भनिएको हो ।


परम्परागत रूपमा दसैँ–तिहारमा सीमित सखिया नाच अहिले विभिन्न सामाजिक कार्यक्रम, मेला र महोत्सवमा पनि प्रस्तुत हुन थालेको छ । यसले थारू समुदायको मौलिक संस्कृति जोगाउन र नयाँ पुस्तामा चिनाउन महत्वपूर्ण योगदान पु¥याइरहेको स्थानीयको भनाइ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

Leave a Reply