You are currently viewing घरका मूलढोकामा नाग टाँसेर आज नागपञ्चमी पर्व मनाइँदै

घरका मूलढोकामा नाग टाँसेर आज नागपञ्चमी पर्व मनाइँदै

१३श्रावण,२०८२ःआज नागको पूजाअर्चना गरी घरका मूलढोकामा नाग टाँसेर नागपञ्चमी पर्व मनाइँदैछ । यो पर्व हरेक वर्ष साउन शुक्ल पञ्चमीका दिन मनाइन्छ ।
घरको मूलढोकामा नागको तस्वीर टाँस्दा वर्षभर घरमा नाग, सर्प र बिच्छीलगायतका जीवले दुःख नदिनुका साथै अग्नि, मेघ र चट्याङको भयबाट पनि बच्न सकिन्छ भन्ने धार्मिक विश्वास रहेको छ । वैदिक मान्यताअनुसार नागलाई सर्पको ‘राजा’ मानिन्छ । नाग रिसाए भने पानीको अभाव हुने भएकाले पानीका लागि पनि नागलाई खुशी पार्न पूजा गर्ने परम्परा बसेको हो ।
बराहपुराणमा उल्लेख भएअनुसार साउन शुक्ल पञ्चमीमा नागराजसँग ब्रह्माको संवाद भएकाले पनि आजको दिन नागपूजाका लागि प्रसिद्ध मानिन्छ । नागलाई विष्णु र शिवका रुपमा मान्ने चलन वैदिक सनातनकालदेखि छ । नागका बाह्र नाम भए पनि आठ कूलका आठ वटा नागको पूजा गर्ने परम्परा छ । अनन्त, वासुकी, पद्म, महापद्म, तक्षक, कुलीर, कर्कट र शङ्ख गरी आठ नागलाई आजको दिन ब्राह्मण पुरोहितबाट पूजाआजा गरी घरको ढोकामाथि टाँसिन्छ ।
आजको दिन घरमा नाग टाँसेपछि खेतबारीमा खनजोत नगर्ने र नाग, सर्पलगायतका घिस्रने जनावरलाई मार्नु हुँदैन भन्ने मान्यता छ ।
वैज्ञानिक रूपमा प्रकृतिमा भएका विषालु पदार्थलाई नाग, सर्पलगायत जीवले शोषण गरी मानवलगायत अन्य जातिलाई विषालु पदार्थको प्रभाव पर्न नदिने अनुसन्धानबाट पुष्टि गरेपछि ऋषिमुनिले नागजातिको पूजाआजा गर्ने रित बसालेको विश्वास छ । नागपञ्चमीपछि चाडबाडको याम शुरू हुन्छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

Leave a Reply