२१ श्रावण,२०८२ : बैतडीका मठैराजवासी घरपरिवारको एक छाक कटाएर चन्दा सङ्कलन गरी लघुजलविद्युतको पावरहाउस मर्मत गर्न जुटेका छन् ।
छेउमै चमेलिया जलविद्युत् आयोजना भए पनि गाउँमा राष्ट्रिय प्रसारणको बिजुली नपुगेपछि डिलासैनी गाउँपालिका–४, मठैराजका करिब तीन सय घरपरिवार गाउँकै लघुजलविद्युत्को जीर्ण पावरहाउस मर्मत गर्न जुटेका हुन् । २०५४ मा निर्माण भएको २१ किलोवाटको लघुजलविद्युत्को पावरहाउसको भवन जीर्ण भएर भत्केपछि विद्युत् सेवा एक वर्ष अघिदेखि बन्द थियो । पावरहाउस मर्मत गर्न गाउँले एकजुट भएको स्थानीय पदमबहादुर विष्टले बताए ।
मर्मतका लागि स्थानीय सरकारसँग माग गरे पनि चासो नदिएको गुनासो गर्दै उनले छेउमै चमेलिया जलविद्युत् भए पनि गाउँमा बत्ती नपुगेकोले आफूहरू लघुजलविद्युत् लाई मर्मत गर्न लागेको बताए । एक महिनाभित्रै बिजुली बाल्ने लक्ष्य उनीहरूले लिनुभएको छ ।चन्दाबाट अहिलेसम्म डेढ लाख रुपियां सङ्कलन भइसकेको उनले भने पावरहाउस मर्मत गर्न अझै थप डेढ लाख जति रकम अपुग भएको छ। गाउंमा उज्यालो नहुँदा विद्यार्थीलाई पठनपाठनमा असर परेको छ । त्यसले गर्दा गाउँ आफै मर्मतका लागि जुटेको स्थानीय लोकेन्द्र रानाले बताए ।

उनले भने “स्थानीय सरकारले कुनै सुनुवाइ नगरेपछि राज्यको मुख कहिलेसम्म ताक्ने भनेर मठैराजवासीले चन्दा सङ्कलन गरेर जनश्रमदानमा समेत जुटेका छन् ।” तत्कालीन जिल्ला विकासमातहत रहेको ऊर्जा शाखाबाट निर्माण गरिएका डिलासैनीको मठैराज जस्तै जिल्लाका १० वटा स्थानीय तहमा रहेका ग्रामीण लघुजलविद्युत् बन्द अवस्था छन् । कतै राष्ट्रिय प्रसारण लाइन पुगेपछि लघुजलविद्युत् अलपत्र छाडिएका छन् भने कतै बजेट नहुँदा अलपत्र परेका छन् ।
जिल्लाको सिगास गाउँपालिकामा मात्रै ऊर्जा शाखाले सात वटा लघुजलविद्युत् निर्माण गरेको थियो । तीमध्ये अधिकांश बन्द छन् । सिगास गाउँपालिका–२, इरानागाड लघुजलविद्युत्का तार, पोल र पावरहाउसका उपकरणसमेत गायब भएका छन् । त्यसै गरी बैतडीको पाटन नगरपालिका, मेलौली नगरपालिका, सुर्नया गाउँपालिकामा रहेका लघुजलविद्युत् पनि बन्द अवस्थामा रहेका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?