विद्यालय निरीक्षकले आफूसँग विवाह नगरे मारिदिने धम्की दिएपछि एक शिक्षकाले आत्महत्या गरेकी छन् । डोटी स्थायी घर भई बाजुराको बुढीगंगा नगरपालिका– ५ मा रहेको भानोदय माध्यमिक विद्यालयमा निम्न माध्यमिक तह गणित शिक्षकको रूपमा कार्यरत जानकी खड्काको सुसाइड नोटबाट सो कुराको खुलासा भएको हो ।

खड्का डोटीको पूर्वीचौकी गाउँपालिका– १ की स्थायी बासिन्दा हुन् । उनलाई विवाहका लागि दाबाब दिनेमा डोटीकै शिखर नगरपालिका– ११ स्थायी घर भई जिल्ला शिक्षा समन्वय एकाइ सिलगढीमा कार्यरत विद्यालय निरीक्षक गणेशबहादुर रावलले विवाहका लागि दबाब दिएका थिए ।

विवाहको प्रस्ताव अस्वीकार गरेपछि रावलले खड्काका भाइ प्रदीप खड्कालाई फोन गरेर ‘तिम्रो दिदीले मसँग विवाह नगरे मारिदिन्छु’ भन्दै धम्क्याएका थिए ।

रावलको निरन्तरको धम्कीपछि खड्काले गत १० कात्तिकमा घरभन्दा ७ सय मिटर तल खोला किनारमा रहेको उत्तिसको बोटमा झुण्डिएर आत्महत्या गरेकी थिइन् । रावलविरुद्ध मृतक खड्काका बुबा चक्रबहादुर खड्काले आत्महत्या दुरुत्साहन मुद्दामा प्रहरी कार्यालय डोटीमा जाहेरी दिएका छन् । जोहेरीपश्चात् ११ कात्तिकमा नै रावललाई पक्राउ गरिसकेको छ ।‘हामीले आज अदालतमा पेस गर्दै छौँ ।

जाहेरी पर्नेबित्तिक्कै पक्राउ गरेका छौँ,’ जिल्ला प्रहरी कार्यालय डोटीका डीएसपी दिपेन्द्र पालले भने । प्रतिवादी रावल डिभोर्सी हुन् । उनका दुई सन्तान रहे पनि उनीहरू आमासँगै बसिरहेका छन् ।
मृतक जानकी खड्काको सुसाइड नोटमा यस्तो लेखिएको छ…..
“अहिलेसम्म ड्याडी मम्मीको इज्जत सम्झेर बसेकी म आज जिन्दगीले अनौठो मोडमा ल्याइदियो। गणेश रावलले आफैं फ्रेन्ड रिक्वेस्ट पठाएको हो, न मैले देखेकी छु, न भेटेकी छु — सबै उसका नाटक हुन् मलाई फसाउने।”उनले आफ्नो परिवारलाई सम्बोधन गर्दै लेखेकी छन्, “मेरो आयु यति रहेछ। बाबाआमाको इज्जत गुमाएर, तिमीहरुलाई नराम्रो संस्कार सिकाएर कसैको श्रीमान र बुवा भइसकेको मान्छेसँग जीवन जीउन सक्दिन।”जानकीले सुसाइड नोटमा भाइलाई बिरामी आमाबुवाको राम्रोसँग हेरचाह गर्न, खराब संस्कारबाट टाढा रहन र आफ्नै सपना पूरा गर्न आग्रह गरेकी छन्। उनले बैंकिङ तथा अन्य आर्थिक विवरणसमेत उल्लेख गरी परिवारलाई व्यवस्थापन गर्न सहज बनाइदिएकी थिइन्। मृतकका भाइ प्रदीप खड्काका अनुसार परिवारको मुख्य भर दिदीमै थियो।“हामी मध्यम वर्गीय परिवार हौं। बुबा रक्तचाप र आमा माइग्रेनका बिरामी हुनुहुन्छ। दिदी नै हाम्रो घरको खम्बा हुनुहुन्थ्यो,” प्रदीपले भावुक हुँदै भने, “दोषीले सजाय पाउनु नै दिदीको आत्माको न्याय हुनेछ।” परिवारका अनुसार रावलले जानकीसँग विवाह गर्ने दबाब दिँदै नमान्दा ज्यान मार्ने धम्कीसमेत दिएका थिए।
उनले यसअघि नै विवाह गरी सन्तान समेत भएका बेला पत्नीबाट सम्बन्ध विच्छेद गरेका थिए। प्रहरीका प्रवक्ता डीएसपी पालका अनुसार रावलले पहिले विवाह गरेको तथ्य खुलेको छ र घटनाको थप अनुसन्धान भइरहेको छ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?