२०भाद्र,धनगढीः कञ्चनपुरको पुर्नर्वास नगरपालिका–८ र ९ मा पर्ने ‘प्यारा ताल’ प्राकृतिक सौन्दर्य र जैविक विविधताले महत्वपूर्ण मानिन्छ। करिब ६ किलोमिटर लम्बाइ, ७० मिटर चौडाइ र १५ फिट गहिराइ रहेको यो सदावहार तालमा दुर्लभ ओद (मांशाहारी जलचर), दक्षिण एसियामै दुर्लभ पहेंलोधुरे कछुवा, गोही, जलकपुरसहित ३५ प्रजातिका माछा पाइन्छन्। यससँगै अन्य जलचर र उभयचर प्राणीहरूको बासस्थान पनि यहाँ रहेको छ।
राज्य निकायको ध्यान नपुगेका कारण स्थानीयस्तरमै संरक्षण अभियान सुरु भएको हो। ‘प्याराताल पर्यटन प्रवद्र्धन तथा संरक्षण समिति’ का अध्यक्ष दिपेन्द्र बस्नेतका अनुसार २०८० असार २० गतेदेखि सुरु गरिएको अभियानअन्तर्गत सुरुआती चरणमै नागरिकस्तरबाट आर्थिक सहयोग जुटाइ ओद, कछुवा, जलकपुर, जरायो र गोहीका प्रतिमासहित मयूर, पाटेबाघ र सिमकुखुराको प्रतिमा निर्माण कार्य अघि बढाइएको छ।
गत आव २०८१÷८२ मा संघीय सरकारले रु ९० लाख विनियोजन गरेपछि नगरपालिकामार्फत ७३ लाखमा टेन्डर भई करिब ११० मिटर तटबन्ध निर्माण कार्य थालिएको हो। हालसम्म ८५ मिटर तटबन्ध निर्माण भइसकेको र बाँकी २५ मिटर निर्माणाधीन रहेको छ। यससँगै ताल क्षेत्रमा माटो फिलिङ र सभाहल निर्माणसमेत गरिएको छ।
नगरपालिकाले विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) तयार पारेको छ। संरक्षण, प्रचारप्रसार र आकर्षक संरचना विकास गर्न सके प्यारा ताललाई सुदूरपश्चिमकै महत्वपूर्ण पर्यटकीय गन्तव्यका रूपमा विकास गर्न सकिने अपेक्षा गरिएको छ। तर भारतसँग भूभाग जोडिएको यो तालमा समयमै राज्यस्तरको ध्यान नपुगे अस्तित्वमा खतरा आउने स्थानीयको भनाइ छ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?