नेपाली महिला क्रिकेट टोली एसियन गेम्सको महिला क्रिकेट छनोट प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ ।

बिहीबार भएको खेलमा इन्डोनेसियालाई ४ विकेटले पराजित गर्दै नेपाल सेमिफाइनलमा प्रवेश गरेको हो । इन्डोनेसियाले दिएको ११४ रनको लक्ष्य नेपालले ३ बल बाँकी छँदा ६ विकेटको क्षतिमा पूरा गर्यो ।कप्तान इन्दु बर्माले ४३ बलमा अविजित ४२ रनको इनिङ खेलिन् । सोनी पाख्रिनले २९, कविता कुँवरले १४ अनि सीता राना मगरले अविजित १३ रन बनाइन् ।
इन्डोनेसियाका लागि ना मादे पुत्री सुवानदेवी र नि कदेक अरियानीले २-२ विकेट लिए भने इदादा लक्समी पारामिथा र साङ आयु नोम्यानले १-१ विकेट लिए ।
नेपालका लागि मनिषा उपाध्यायले २ तथा रिया शर्माले १ विकेट लिए ।नेपालले यसअघि बुधबार चीनलाई पराजित गरेको थियो ।नेपालले अब सेमिफाइनलमा मलेसियासँग खेल्नेछ । उक्त खेल जिते नेपाल एसियन गेम्समा छनोट हुनेछ । सेमिफाइनलमा पराजित भएपनि तेस्रो स्थानको खेलमा विजयी भएमा नेपाल छनोट हुनेछ
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?