असार १३,धनगढी : धनगढीको फाप्लामा जारी सुदूरपश्चिम प्रदेश स्तरीय यु १९ महिला टि-२० प्रतियोगीतामा कैलाली र कञ्चनपुर विजयी भएका छन । शुक्रबार सम्पन्न समूह क अन्तरगर्तका खेलमा कैलालीले अछाम तथा कञ्चनपुरले बझाङलाई पराजित गरेको छ । बिहान सम्पन्न खेलमा कैलालीले अछामलाई १०० रनले पराजित गरेको छ ।
कैलालीले दिएको १५६ रनको लक्ष्य पछ्याउने क्रममा अछाम १४.२ ओभरमा ५५ रन बनाएर अलआउट भयो । अछामका लागि रितिका धामीले २८ रन बनाउनु बाहेक अन्य ब्याटरले दोहोरो अंकको स्कोर बनाउन सकेनन । अछामले ५५ मा १६ रन अतिरित्तबाटै जोडेको थियो । कैलालीका लागि रचना बोहराले ४,हिशिला खड्का र कविता रोकायाले समान दुइ दुइ तथा कप्तान स्नेहा महरा र इरासां चौधरीले समान एक एक विकेट हात पारे ।
यसअघि टस जितेर पहिला ब्याटिङ गरेको कैलालीले निर्धारित २० ओभरको खेलमा ५ विकेट गुमाएर १५५ रन बनायो । कैलालीका लागि कप्तान स्नेहा महाराले अविजित अर्धशतकिय पारी खेलिन । ६५ बल सामना गरेकी उनले ४ चौकाको सहयोमा ५२ रन बनाइन । उनी म्यान अफ दी म्याच पनि चुनिइन । त्यस्तै चेतना कुँवरले ४० तथा इरासां चौधरील २० रन बनाइन । कैलालीले ३३ रन अतिरित्तबाटै जोडेको थियो । अछामका लागि बबिता धामीले दुइ तथा कप्तान रेजिना कुँवरले एक विकेट लिइन ।
त्यस्तै आजै भएको दोश्रो खेलमा कञ्चनपुरले बझाङलाई ६३ रनले पराजित गरेको छ । कञ्चनपुरको यो लगातर दोश्रो जित हो । उस्ले उद्घाटन खेलमा घरेलु टोली कैलालीलाई २ विकेटले पराजित गरेको थियो । फाप्ला मैदानमा कञ्चनपुरले दिएको ११७ रनको लक्ष्य पछ्याउने क्रममा बझाङ १३.४ ओभरमा ५३ रन बनाएर अलआउट भयो । बझाङका लागि कुनैपनि ब्याटरले दोहोरो अंकको स्कोर जोड्न सकेनन । बझाङको ब्याटिङ लाइन ध्वस्त गर्न कञ्चनपुरकी कप्तान सावित्री धामी एक्लैले ४ विकेट लिइन । त्यस्तै गंगा खड्काले ३ तथा दिपा बडु र अर्चना चन्दले समान एक एक विकेट लिए ।
त्यसअघि टस जितेर पहिला ब्याटिङ गरेको कञ्चनपुरले निर्धारित २० ओभरको खेलमा ८ विकेट गुमाउँदै ११६ रन बनायो । कञ्चनपुरका लागि कप्तान सावित्री धामीले ३० बलमा ३६ रनको पारी खेलिन । उनी म्यान अफ दी म्याच पनि चुनिइन । त्यस्तै कसिस पालले थप २८ रन बनाइन । बझाङका लागि भावना चलाउने,तिलहरी जप्रेल तथा सरस्वती कुमारी सोतीले समान दूइ दुइ तथा कप्तान अनु कडायतले एक विकेट लिइन ।
सुदूरपश्चिम खेलकुद परिषदको आयोजनामा असार १२ गतेबाट सुरु भएको प्रतियोगीता असार १९ गतेसम्म सञ्चालन हुनेछ । प्रतियोगीतामा प्रदेशका ८ टोली सहभागी छन । प्रतियोगीताको विजेता टोलीले नगद २ लाख र उपविजेता टोलीले नगद १ लाख पुरस्कार प्राप्त गर्ने आयोजकले जनाएकोछ ।