एक महिनामै तीन उपाधि दिलाउने विद्या भूषणका खेलाडी, शिक्षक र अभिभावक सम्मानित

धनगढी । धनगढी–१३ मोहनपुरस्थित विद्या भुषण पब्लिक स्कुलले एक महिनाको अवधिमा तीन वटा क्रिकेट प्रतियोगिताको उपाधि जिताउन सफल खेलाडी, शिक्षक तथा अभिभावकलाई विशेष सम्मान गरेको छ । साथै सोही कार्यक्रममा नेपाल प्रिमियर लिग ( एनपीएल ) मा उत्कृष्ट प्रदर्शन गरेका सुदूरपश्चिम स्थायी घर भएका क्रिकेट खेलाडी शेर मल्ललाई पनि विशेष सम्मान प्रदान गरिएको छ ।

नेपाल प्याब्सनका केन्द्रीय सचिव योगेन्द्र हमालको प्रमुख आतिथ्यतामा सम्पन्न सम्मान कार्यक्रममा मंसिर १० गतेदेखि पुष १ गतेसम्म कैलालीमा सम्पन्न तीन वटा क्रिकेट प्रतियोगिताको उपाधि दिलाउन महत्वपूर्ण योगदान दिएका विद्यालयका २४ जना विद्यार्थी खेलाडीलाई एक महिनाको छात्रवृत्तिसहित सम्मान गरिएको हो ।

त्यसैगरी विद्यालयलाई उपाधि जिताउन महत्वपूर्ण भूमिका निर्वाह गर्ने शिक्षक श्याम रायलाई नगद १० हजार ५ सय रुपैयाँसहित सम्मान गरिएको छ ।

विद्यालय सञ्चालनमा उल्लेखनीय योगदान पुर्‍याएका विद्यालयका सल्लाहकार त्रिभुवन देव भट्टलाई समेत विशेष सम्मान प्रदान गरिएको विद्यालयले जनाएको छ । कार्यक्रममा विद्यार्थीका अभिभावकहरूलाई पनि सम्मान गरिएको थियो ।

विद्या भुषण पब्लिक स्कुलले मंसिर १० गतेदेखि प्याब्सन धनगढीको आयोजनामा सम्पन्न ५१ हजार १११ रुपैयाँ पुरस्कार राशीको सिसिएस प्लस टु प्याब्सन धनगढी क्रिकेट कप, मंसिर १८ गतेदेखि राइजिङ स्टार बोर्डिङ स्कुलको आयोजनामा सम्पन्न ५० हजार रुपैयाँ पुरस्कार राशीको बाल्मिकि प्लस टु राइजिङ स्टार प्रिमियर लिग तथा मंसिर २७ गतेदेखि प्याब्सन कैलालीको आयोजनामा सम्पन्न ६५ हजार १११ रुपैयाँ पुरस्कार राशीको प्रथम चैतन्य पाठशाला प्याब्सन कैलाली कप क्रिकेट प्रतियोगिताको उपाधि जित्न सफल भएको थियो ।

विद्यालयलाई ह्याट्रिक उपाधि दिलाउन सफल भएको भन्दै विद्यालय परिवारले २४ जना विद्यार्थी खेलाडीलाई एक महिनाको छात्रवृत्ति प्रदान गर्दै सम्मान गरेको हो ।

त्यसैगरी कार्यक्रममा विद्या भुषणका एक विद्यार्थीको दुर्भाग्यपूर्ण दुर्घटनापछि निधन भएको घटनामा आर्थिक सहयोग गरेको भन्दै प्याब्सन धनगढीलाई समेत विशेष सम्मान गरिएको थियो ।

विद्यालयले पछिल्लो समय गुणस्तरीय शिक्षा, अतिरिक्त क्रियाकलाप र खेलकुदमा विशेष जोड दिँदै उल्लेखनीय उपलब्धि हासिल गर्दै आएको कार्यक्रमका वक्ताहरूले बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

Leave a Comment

Your email address will not be published. Required fields are marked *

Scroll to Top