१९ श्रावण,२०८२ : कञ्चनपुर बेलडाँडी २ की १७ वर्षीया सम्झना भट्ट मृत फेला परेकी छन् । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका अनुसार उनी आफ्नै घरमा झुन्डिएको अवस्थामा मृत फेला परेकी थिइन् । कञ्चनपुर प्रहरीका अनुसार घरभित्र झ्याल र ढोकामा चुकुल लगाएर झुन्डिएको अवस्थामा सम्झनाको शव फेला परेको थियो । घरको ढोका फोडेर सम्झनाको शव बाहिर निकालिएको थियो ।

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक सागर बोहराका अनुसार १८ वर्षीया सम्झना र पवनबीच गत फागुन महिनामा प्रेम विवाह भएको थियो । ‘सम्झना मृत फेला परेपछि उनका श्रीमान पवनलाई नियन्त्रणमा लिएर अनुसन्धान अगाडि बढाएका छौं,’ डीएसपी बोहराले भने । कम उमेरमै विवाह गरेकी सम्झनालाई घरमा कुटपिट हुने गरेको आरोप लागेपछि सोधपुछको लागि श्रीमानलाई पक्राउ गरिएको बताइएको छ ।
प्रहरीका अनुसार विवाहभन्दा पहिलले प्रेम सम्बन्धमा हुँदा पनि सम्झना र पवनबीच विवाद र झगडा हुँदै आएको थियो । प्रेम सम्बन्धमा हुँदा गत मङ्सिरमा पनि जिल्ला प्रहरी कार्यालयको महिला सेलमा विवाद निरूपण गरिएको थियो । सम्झनाको शव भेटिनुको अघिल्लो दिन पनि स्थानीय प्रहरी कार्यालयले उनीहरूलाई सम्झाएर पठाएको पाइएको छ । सम्झनाका माइती पक्षले घटनाको सत्यतथ्य छानबिनको माग गरेका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?