२९भाद्र,धनगढीः बर्दियाको गुलरिया नगरपालिका वडा १२ टडुवामा रहेको नेपाल केदुवाई सामुदायिक वनमा चितुवाको आक्रमणबाट एक महिलाको मृत्यु भएको छ । सामुदायिक वनमा घाँस काट्न गएको समयमा चितुवाको आक्रमणमा परी सोही ठाउँ निवासी २८ वर्षीया कविता तामाङको मृत्यु भएको हो ।
घर नजिकैको जङ्गलमा घाँस काट्न जाने क्रममा तामाङलाई चितुवाले आक्रमण गरेको हो । चितुवाको आक्रमण गरेपश्चात् सँगै गएका साथीहरूले स्थानीयवासीलाई खबर गरेका थिए । स्थानीयवासीले हो हल्ला गरेर तामाङलाई छुटाएका थिए । तामाङलाई चितुवाले छोडेर भागे पनि उहाँको घटनास्थलमै मृत्यु भएको डिभिजन वन कार्यालय बर्दियाका सूचना अधिकारी रामकुमार चौधरीले बताए ।

उहाँले बिहानै जङ्गलमा चार जनाको समूहमा घाँस काट्न गएको समयमा चितुवाले आक्रमण गरेको बताए । मृतक महिलाको घरमा तीन वर्षको बच्चा रहेको स्थानीयबासीले बताएका छन् । पटकपटक चितुवाको आक्रमणबाट मानिसको मृत्यु हुन थालेपछि स्थानीयवासी त्रसित भएका छन् । गत साउन ३१ गते सो स्थानबाट नजिक रहेको गुलरिया नगरपालिका वडा ११ भैँसाहीमा चितुवाले आक्रमण गदा ४५ वर्षीया जगतरानी थारूको मृत्यु भएको थियो ।

चितुवा नियन्त्रणका लागि स्थानीवासीले माग गरेका छन् । एक महिनाको अन्तरालमा नजिकै दुई जनाको मृत्यु हुँदा पनि सम्बन्धित निकायले चितुवा नियन्त्रणमा लिन नसकेको गुलरिया नगरपालिका वडा १२ सूर्यगौडीका साबिर अलि गद्दीले बताए ।
एक महिना अघिदेखि चितुवा नियन्त्रणका लागि क्यामेरा र चार वटा पासो राखिएको सूचना अधिकारी चौधरीले बताए । उनले चितुवा नियन्त्रणका लागि लगातार प्रयास गरे पनि पासोमा चितुवा नपरेको बताए । घटनापछि चितुवा नियन्त्रणका लागि डिभिजन वन कार्यालय, बर्दिया राष्ट्रिय निकुञ्ज, राष्ट्रिय प्रकृति संरक्षण कोष र सुरक्षाकर्मीको टोली घटनास्थलतर्फ हिँडेको उनले बताए।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?