९भाद्र,२०८२ः यस वर्षको गौरा पर्व यही भदौ १५ गते मनाइने भएको छ । भदौ १२ देखि सुरु भई १५ गते मुख्यदिन अठवालीका रुपमा गौरा मनाइने अठोला पञ्चाङ्गका पञ्चाङ्कार ज्योतिष डिल्लीराज जोशीले बताए ।
जोशीद्वारा हस्ताक्षरित विज्ञप्तिमा भनिएको छ, “गौरा पर्व पर्वतराज हिमालय पुत्री पार्वतीको कठोर तपस्याले सफलता प्राप्त गरेको सुखद उपलक्ष्यमा बैदिक कालदेखि मनाइँदै आएको हाम्रो मौलिक सांस्कृतिक पर्व हो, गौरा पर्वमा ब्रतालु नारीहरुको प्रमुख भूमिका रहेको हुन्छ ।” भदौ १२ गते भाद्र शुक्लपक्ष पञ्चमी तिथि बिहान ७ः१० बजेसम्म सिंहलग्न र अपराह्न ३ः५४ बजेसम्म पञ्चमीतिथि रहेको छ तथा यसै दिन बिरुडा (पञ्च अनाज) भिजाउने बिरुडा पञ्चमी पनि रहेको छ ।यस्तै भदौ १३ गते बिरुडा धुने षष्टितिथि साँझ ५ः५४ बजेसम्म रहेको छ । यसै दिनमा बिरुडा धुने र नोला (पानीको धारामा) गोरा पूजीने गरिन्छ । भदौ १४ गते गौरा सप्तमी र अमुक्ताभरण सप्तमी साँझ ७ः५७ बजेसम्म रहेको छ । यसै दिन गौरा भित्र्याउने, गौरा र दुबधागो पुजन रहेको छ । भर्दौ १५ गते दुर्वाष्टमी व्रत, गौरा पर्वको मुख्य दिन अठ्वाली अनुराधा नक्षत्र अपराह्न ३ः५६ बजे सम्म रहेको जनाइएको छ ।
अठोला पञ्चाङ्गका अनुसार नयाँ सृष्टि, माया– प्रेमाकर्षण, शान्ति, धैर्यता, पारिवारिक मिलन, सामाजिक–सदभाव, हर्ष र बन्धुत्वको सन्देश बोकेको यो पर्वमा मनस्विनी, शिवशक्ति माँ गौरीको तपलाई अनुसरण गरि महिलाहरु पवित्र रहि, चार दिनसम्म निराहार ब्रतबसी, गौरी– महेश्वरको प्रतिमा बनाइ मंगलामुखी बाणी (सगुना) र बिरुडाको प्रसादले इच्छित फल प्राप्तिका लागि गौरी–महेश्वरको ध्यानमग्न भइ पुजा–आराधना गर्ने गर्दछन ।
महिलाहरुले यस वर्ष दुबधागो उत्तराभिमुख भई लगाउँदा शुभ रहेको छ । आफ्नो अनुकुलता र चलनअनुसार गोराः सेलाइने (समापन) छ । यस वर्ष गौरा पर्व भाद्र शुक्ल पक्षमा परेको हुँदा नौली गोरिया (नव बिवाहिता नारी)हरुले उज्याली गोराः मा दुबधागो लाउन पाउने हुँदा गौरा पर्व थप उल्लासमय हुनेछ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?