You are currently viewing ……….र त्यसपछि नेपाल स्कटल्याण्डसँग २ रनले हार्न पुग्यो /@NPL vs SCO /@WCL-2

……….र त्यसपछि नेपाल स्कटल्याण्डसँग २ रनले हार्न पुग्यो /@NPL vs SCO /@WCL-2

जेठ २६,धनगढी : अन्तिम ओभरमा दुई विकेट गुमाएपछि आइसिसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत चौथो त्रिकोणात्मक एकदिवसीय शृंखला खेलिरहेको नेपालले घरेलु टोली स्कटल्यान्डसँग २ रनको नमिठो हार व्यहोरेको छ ।

 

आइतबार डुन्डेस्थित फोर्टहिल क्रिकेट मैदानमा स्कटल्यान्डले प्रस्तुत गरेको ३२४ रनको विशाल लक्ष्य पछ्याएको नेपालले ५० ओभरमा मात्र ३२१ रन बनाउन सक्यो । एकदिवसीय अन्तर्राष्ट्रिय खेलमा नेपालको यो सर्वाधिक योगफल हो ।

अन्तिम ओभरमा आठ विकेट गुमाइसकेको नेपाललाई जितका लागि सात रनको आवश्यकता थियो । क्रिजमा थिए अलराउन्डर करण केसी र बलर सन्दीप लामिछाने । विपक्षी बलर थिए सफ्यान शरीफ । १५ रनमा रहेका करणले शरीफको पहिलो बलमा दुई रन लिए । दोस्रो बलमा डट बल फालेका शरीफले लगत्तैको बलमा पहिलो अन्तर्राष्ट्रिय एकदिवसीय खेल खेलिरहेका मेकेन्जी जोन्सबाट क्याच गराए ।

करण पेभिलियन फर्किएसँगै नेपालको आशा लगभग समाप्त भइसकेको थियो । यद्यपि नेपालसँग एक विकेट र सन्दीपको ब्याटिङ कौशलता बाँकी थियो । सन्दीपलाई अन्तिम विकेटमा साथ दिन आए ललित राजवंशी । शरीफको चौथो बलमा राजवंशीले एक रन लिँदै सन्दीपलाई ‘स्ट्राइक रोटेट’ गरे । पाँचौ बलमा सन्दीप दुई रन लिँदै स्ट्राइक आफैँ राख्न चाहन्थे, तर उनले एक रनबाहेक लिन सकेनन् । अब जितका लागि तीन रन आवश्यक थियो । दुई रन लिए खेल ‘सुपर ओभर’मा जाँदै थियो । तर, अन्तिम बलमा ललित बोल्ड भए ।

नेपालका लागि तेस्रो नम्बरका ब्याटर भिम शार्कीले ८५ बलमा आठ चौकासहित सर्वाधिक ७३ रन बनाए । त्यस्तै अलराउन्डर सोमपाल कामीले ४४ बलमा तीन चौका र चार छक्कासहित ६७ रनको योगदान गरे । अर्का अलराउन्डर दीपेन्द्रसिंह ऐरीले ५१ बलमा दुई चौकासहित ५६ रनको पारी खेले । त्यस्तै पाँचौं नम्बरका ब्याटर आरिफ शेखले ३९ रन बनाउँदा ओपनर कुशल भुर्तेलले १७ रन जोडे । अलराउन्डर गुल्सन झा ११ रनमा आउट हुँदा अन्य खेलाडीले दोहोरो अंकमा रन बनाउन सकेनन् ।

स्कटल्यान्डका लागि मेकेन्जीले ९ ओभरमा ५५ रन खर्चिँदै सर्वाधिक तीन विकेट लिए । त्यस्तै शरीफ र माइकल लिस्कले समान दुई विकेट लिँदा ब्रेन्डन म्याकमुलन र चार्ली केसलको नाममा समान एक विकेट रह्यो ।

नेपालले १९ रन हुँदा पहिलो विकेट गुमाएको थियो । ओपनर कुशल कप्तान रिची बेरिङटनको क्रसमा विकेटकिपर म्याथिउ क्रसबाट रन आउट भएका थिए । स्कोरबोर्डमा आठ रन जोड्न नपाउँदै अर्का ओपनर आसिफ सेख पेभिलियन फर्किए । उनी जोन्सबाट बोल्ड भएका थिए । आसिफले मात्र ८ रन बनाए । त्यसपछि कप्तान रोहित पौडेल पनि सस्तैमा पेभिलियन फर्किए । म्याकमुलनको बलमा रोहित जोर्ज मुन्सेबाट क्याच भए ।

दयनीय स्थितिमा रहेको नेपालका लागि रोहितपछि आएका आरिफले भिमसँग मिलेर ९४ रनको साझेदारी गरे । अन्ततः लिस्कले आरिफलाई बोल्ड गर्दै स्कटल्यान्डलाई ब्रेक थ्रू दिलाए, जतिबेला नेपालले १२८ रन जोडेको थियो । स्कोरबोर्डमा १६३ रन हुँदा नेपालले भिमलाई गुमायो । जोन्सको बलमा भिम म्याकमुलनबाट क्याच भए । भिमपछि स्कटल्यान्डले गुलसनको विकेट हात पार्यो । यसपालि लिस्कले गुल्सनलाई जोन्सबाट क्याच गराए ।

चार विकेट बाँकी रहेको स्थितिमा नेपालको पारी दीपेन्द्र र सोमपालले सम्हाले । दुबैले सातौं विकेटका लागि १०५ रनको साझेदारी गरे । ४७औं ओभरको तेस्रो बलमा दीपेन्द्र केसलको बलमा जोन्सबाट क्याच भए । योसँगै स्कटल्यान्ड जितको बाटोतर्फ अग्रसर भयो । २० रनपछि सोमपाल पनि पेभिलियन फर्किए । जतिबेला नेपाललाई जितका लागि अब १४ रनको आवश्यकता थियो । तर, पहिलो खेलका नायक करण केसीले यसपालि भने चमत्कार गर्न सकेनन् ।

यसअघि कप्तान रिची बेरिङ्टनको शतकप्रेरित स्कटल्यान्डले नेपालसामु ३२४ रनको लक्ष्य प्रस्तुत गरेको थियो । स्कटल्यान्डले निर्धारित ५० ओभरमा ६ विकेट गुमाउँदै ३२३ रनको योगफल तयार पार्यो ।स्कटल्यान्डका लागि बेरिङ्टनले ११४ बलमा ६ चौका र चार छक्काकोसहित सर्वाधिक १०२ रनको योगदान गरे । माइलक लिस्क ६२ बलमा १२ चौका र तीन छक्कासहित अविजित ९६ रनमा अविजित रहे ।

यसैगरी चार्ली टियरले ६५ बलमा ९ चौकासहित ६८, मार्क वाटले अविजित २१ र फिनले म्याकक्रियाथले १७ रन बनाए । बेरिङ्टनले छैटौं विकेटका लागि लिस्कसँग १२५ तथा तेस्रो विकेटका लागि टियरसँग ९४ रनको साझेदारी गरेका थिए ।नेपालका लागि करण ९केसी० र दीपेन्द्रसिंह ९ऐरी०ले समान दुई तथा ललितनारायण ९राजवंशी०ले एक विकेट लिए ।

नेपालले आफ्नो पहिलो खेलमा स्कटल्यान्डमाथि रोमाञ्चक एक विकेटको जित हासिल गरेको थियो । दोस्रो खेलमा नेपालले नेदरल्यान्ड्सलाई पाँच विकेटले हराएको थियो यो नतिजासँगै सातौं स्थानमा यथावत नेपालले १५ खेलमा १० अंक जोडेको छ । १९ खेलबाट २४ अंक जोडेको स्कटल्यान्ड तालिकाको तेस्रो स्थानमा छ । लिग–२ मा प्रत्येक टोलीले कूल ९ शृंखलामा कूल ३६ खेल खेल्नेछन् । शीर्ष चारमा रहने टोलीले सोझै सन् २०२७ मा आयोजना हुने एकदिवसीय विश्वकपको छनोट चरणमा प्रवेश गर्नेछन् भने अन्तिम चारमा रहने टोलीले भने छनोट चरणको प्लेअफ खेल्नुपर्नेछ ।

खेलाडीबाट साभार

Leave a Reply