लोकप्रीय गजलकार प्रदिप रोदनका २ गजल | Pradip Rodan | SamarpanMedia

गजल नम्बर : एक

म जान्दिन के सम्झिएर जिन्दावाद भन्नुहुन्छ।
कसैले दिने सराब पिएर जिन्दावाद भन्नुहुन्छ।

आँखा खोल्दा देश रित्तिसकेको हुनेछ भोलि,
अझै आँखा चिम्लिएर जिन्दावाद भन्नुहुन्छ।

आफ्नाहरू भेटिए के भन्नुहुन्छ होला तपाईं?
दुश्मनहरुसँग मिसिएर जिन्दावाद भन्नुहुन्छ।

ज-जसले काँडा राख्दैछ हजुरको पैतलामा,
उसैलाई फूलमाला दिएर जिन्दावाद भन्नुहुन्छ।

के रिसाउनु र हजुरसँग आज मुर्दावाद भन्दा,
भोलि सबैकुरा बिर्सिएर जिन्दावाद भन्नुहुन्छ।

गजल नम्बर दुई

यही न हो गाँठो नखोले पनि खोले पनि।
मन बाँध्न नसक्ने रहेछ अंगालोले पनि।

बाँचुन्जेल कहिलेकाहीँ बोल्दै गर बाबू,
एकदिन बोल्न सक्दिन तिमी बोले पनि।

तिमीलाई पनि त दुनियाँको डर रहेछ,
जुत्ता फुकाल्न सकेनौँ खुट्टा पोले पनि।

नचिनेकालाई कसले राख्छ र छातीमा,
उसले के गर्ला राखेन भने माटोले पनि।

नत्र किन यसरी राजी हुँदो हो र जल्न,
अगेना मेरै हो भन्दो हो अगुल्टोले पनि।

गोरखामा जन्मिएका गजलकार प्रदिप रोदन पछिल्लो पुस्ताका सर्वाधिक लोकप्रिय गजलकार हुन । पेशाले रोदन शिक्षक हुन । गजल वाचनकै लागि उनलाई देश तथा विदेशमा निमन्त्रणा गर्ने गरिन्छ । मिठा मर्मस्पर्षी शव्द लेखन र आकर्षक वाचन शैलीका कारण उनी जहाँ गजल वाचन गर्न जान्छन त्यहाँ भिड लाग्ने गरेको छ ।

रोदनको अघिल्लो वर्ष मात्रै मफलर गजल संग्रह बजारमा आएको थियो । जो अहिलेसम्मका गजल कृर्तिमध्येमै लोकप्रीय बन्यो । सो गजल संग्रह फाइन प्रिन्टले बजारमा ल्याएको थियो । नेपाली साहित्यको सबैभन्दा लोकप्रिय पुरस्कार मदन पुरस्कारको श्रेष्ठ सूचिमा पनि उनकोे गजल संग्रह मफलर परेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

Leave a Comment

Your email address will not be published. Required fields are marked *

Scroll to Top