श्रावण दोस्रो सोमबार धनगढीका विभिन्न मन्दिरहरुमा ब्रतालु महिलाहरूको भिड

१२श्रावण,२०८२ः साउन महिनाको दोस्रो सोमबार आज, धनगढीका विभिन्न मन्दिरहरुमा ब्रतालु महिलाहरूको उल्लेख्य उपस्थिति देखिएको छ। हिन्दू धर्मावलम्बी महिलाहरूले धार्मिक आस्थाका साथ भगवान् शिवको पूजा–अर्चना गर्दै व्रत बसेका छन्।
‎साउन महिनालाई भगवान् शिवको प्रिय महिना मानिन्छ। यसै कारण सोमबारको दिन महिलाहरू ब्रह्ममुहूर्तमा उठी स्नान गरी हरियो वस्त्र, चुरा, मेहँदी लगाएर शिवलिङ्गमा जल, दूध, बेलपत्र, धतुरो अर्पण गर्ने परम्परा रही आएको छ। विवाहित महिलाहरूले पतिको दीर्घायु र समृद्धिका लागि व्रत बस्ने गर्दा अविवाहित युवतीहरूले मनपर्ने जीवनसाथी प्राप्त होस् भन्ने कामना गर्दै शिवको पूजा गर्ने गर्दछन्। शिव–पार्वतीको विवाह स्मरण स्वरूप समेत यस दिनको विशेष महत्व रहेको धार्मिक विश्वास छ।


‎धनगढीस्थित शिव मन्दिर, गोदावरी मन्दिर, शिवपुरी धाम लगायतका स्थलहरूमा भक्तजनको भीड देखिएको छ। कतिपय महिलाहरूले फलाहार गरी व्रत बसेका छन् भने केहीले एकछाक मात्र भोजन गरेका छन्। पुण्य कमाउने, मनोकामना पुरा हुने र मानसिक शुद्धता प्राप्त हुने विश्वासका साथ शिव भक्ति गर्ने महिलाहरूले सामूहिक पूजा, कथा वाचन र ‘ॐ नमः शिवाय’ मन्त्र जपमा समेत सहभागिता जनाएका छन्।


‎स्थानीयवासी निरु बिष्ट भन्छिन्, “साउनको सोमबार व्रतले मन शान्त हुन्छ, परिवारमा सुख–शान्ति आउँछ भन्ने विश्वासले वर्षेनी यसरी पूजामा सहभागी हुँदै आइरहेकी छु।” “त्यस्तै कैसैको सन्तान छैन भने सन्तान प्राप्तको लागी कोही आफ्नो श्रीमानको आयु लगायत मनोकामना पुरा होस भनेर साउन महिनाको हरेक सोमबार महिलाहरु बर्त बस्ने गरेको शिवपुरी धामका पण्डित लक्ष्मण फूलाराले बताउनु भयो ” ।‎साउन सोमबारको यस धार्मिक अवसरले महिलाहरूबीच आत्मीयता र सामाजिक सम्वाद बढाउने भूमिका समेत खेलेको देखिन्छ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

Leave a Comment

Your email address will not be published. Required fields are marked *

Scroll to Top